चन्द्र पन्दाक
ताप्लेजुङ, चैत १० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा सम्पन्न कोशी प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगितामा झापाका जुनुन राई र निरज सिलवालको जोडी प्रथम हुनुभएको छ । सुनसरीका लाक्पा शेर्पा र ज्योतिहाङ राईको जोडीलाई पराजित गर्दै राई र सिलवालको जोडी प्रथम भएको हो ।
प्रथम बनेको राई र सिलवालको जोडीले ट्रफीसहित ४० हजार रुपियाँ नगद पुरस्कार पाएको छ । उविजेता बनको शेर्पा र राईको जोडीले ३० हजार रुपियाँ नगद पुरस्कारमा चित्त बुझाउनुपरेको छ । यस्तै, प्रदेशस्तरीय भेट्रान्सतर्फ पाँचथरको दीपक आङ्देम्बे र गणेश राई प्रथम हुनुभएको छ ।
ताप्लेजुङको मानबहादुर पालुङ्वा र अमृत लिम्बूको जोडीलाई पराजित गर्दै प्रथम बनेको आङ्देम्बे र राईको जोडीले ट्रफीका साथ ३० हजार रुपियाँ नगद पुरस्कार हात पारेको छ । त्यस्तै भेट्रान्सतर्फ उविजेता बनेको पालुङ्वा र लिम्बूको जोडीले २० हजार रुपियाँ नगद पाएको छ ।
यसैगरी, ताप्लेजुङ जिल्लास्तरीय जुनियर ‘बी’ डबल्सतर्फ गजेन्द्र थलङ र सञ्जुहाङ लिम्बूको जोडी प्रथम भएको छ । रवीन सुनुवार र डेभिट लिम्बूको जोडीलाई पराजित गर्दै प्रथम बनेको थलङ र लिम्बूले २० हजार रुपियाँ पुरस्कार पाएको छ । सुनुवार र लिम्बूको जोडी दोस्रो अर्थात उपविजेता बन्दै १५ हजार रुपियाँ नगद पुरस्कार पाएको छ ।
कर्मचारी डबल्सतर्फ धनकुमार लिम्बू र प्रकाश लिम्बू प्रथम भएको छ । त्यस्तै, मिक्स डबल्सतर्फ सञ्जुहाङ लिम्बू र भावना केदेमको जोडी प्रथम भएको छ । मिक्स डबल्समा मिलिन गुरुङ र सरुना गुरुङको जोडी दोस्रो बनेको छ । जनप्रतिनिधितर्फ भने ताप्लेजुङका सोजित श्रेष्ठ र मदन गुरुङको जोडी प्रथम र पाँचथर हिलिहाङका समरबहादुर अधिकारी र वीरेन्द्र योङ्हाङको जोडी दोस्रो भएको छ ।
जनप्रतिनिधि, कर्मचारी डबल्स र मिक्स डबल्सका विजेताले समान २०–२० हजार रुपियाँ नगद पुरस्कार प्राप्त गरेका छन् । उपविजेता बनेका जोडीले पनि समान १५ हजार रुपियाँका दरले नगद पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै, पाथीभरा याङ्वरक गाउँपालिकास्तरीय जुनियर ‘सी’तर्फ निकेस विक र समीर माबोको जोडी प्रथम हुँदै १० हजार रुपियाँ नगद पुरस्कार प्राप्त गरेको छ ।
उविजेता बनेको लक्ष्मण भट्टराई र टीकाराम बरालको जोडीले पाँच हजार रुपियाँ नगदमा चित्त बझाउनुपरेको छ । पाथीभरा याङ्वरक गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा ताप्लेजुङसहित धनकुटा, तेह्रथुम, पाँचथर, झापा, इलाम र मोरङका खेलाडी सहभागी भएका थिए । प्रतियोगिताका विजेतालाई गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा, उपाध्यक्ष रनमाया गुरुङ लगायतले पुरस्कार वितरण गर्नुभएको अध्यक्ष सुब्बाका स्वकीय तेजबिर मेन्याङ्बोले जानकारी दिनुभयो ।