• १९ चैत २०८१, मङ्गलबार

दलितसम्बन्धी घटनाको आयोगद्वारा अनुगमन

blog

तस्बिर : जीवछ यादव राष्ट्रिय मानव अधिकार आयोगको टोली स्थलगत अनुगमन गर्दैै ।

लहान समाचारदाता

लहान, चैत ९ गते  । सिराहाको औरही गाउँपालिका–५ का दीपक मरिक (डुम) परिवारलाई अन्यत्र सारेको घटनाबारे राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेशको टोलीले स्थलगत अनुगमन गरेको छ । 

औरही–५ मा आयोजना हुन लागेको विष्णु महायज्ञको तयारीको व्रmममा दलित भएकै कारण दीपकको घर अन्यत्र सारेको समाचार बाहिर आएपछि वास्तविकता बुझ्न घटना स्थलमा आइपुगेको आयोगका सहसचिव बुधनारायण सहनीले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा पीडित दीपकको परिवारसँग त्यसपछि महायज्ञ आयोजना गरेको त्यागी बजरङ्गी बाबा र सहयोगी गाउँपालिका अध्यक्ष शिवजी यादवसँग घटनाबारे जानकारी लिइसकेको बताउनुभयो । 

आयोगको टोलीसँग गाउँपालिका अध्यक्ष शिवजी यादवले भन्नुभयो, “दीपकको परिवारलाई स्थानीय राष्ट्रिय दलित आयोगका पूर्वसदस्य कबुली पासवान र केहि सञ्चारकर्मीले उचालेर अनावश्यक झमेला खडा गरेको छ । सहमति अनुसार नै दीपकका परिवारलाई महायज्ञ हुने स्थलबाट अन्यत्र सारिएको हो ।” 

मरिक परिवारलाई गाउँकै श्री सुन्दर जनता माध्यमिक विद्यालयको जग्गामा हुलाकीमार्गसँग जोडिएको जग्गामा घरसमेत बनाएर व्यवस्थित गरेर राखेको बताउँदै अध्यक्ष यादवले घर खाली गरिएको स्थललाई शुद्धीकरण गरेर माटोसमेत फालेको कुरा सत्य नभएको बताउनुभयो ।

 घर रहेको स्थलको माटो हनुमान र महादेवको मूर्ति स्थलमा राखिएको उल्लेख गर्दै अध्यक्ष यादवले मरिक परिवारलाई महायज्ञका लागि खाली गराएको होइन, सो जग्गामा कृषि हाटको सेड निर्माण गर्ने कार्य हुने भएकाले हटाएको र महायज्ञको कुरा संयोगवश आएको दाबी गर्नुभयो । 

समाजको सहमति भएपछि त्यहाँबाट घर अन्यत्र सारिएको दीपककी श्रीमती अनिता मरिकले बताउनुभयो । एक घर डुमले समाजमा आफ्नो हैसियत नै के नै राख्छ भन्दै, उहाँले समाजको सहमतिमा आफ्नो घर सारिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सबैले घर खाली गर्ने निर्णय सुनाएपछि घर खाली गरिदिने सहमति जनायौँ ।” राष्ट्रिय दलित आयोगको सदस्य तथा स्थानीय कबुली पासवानले दीपकलाई झुक्याएर मञ्जुरीनामा पत्रमा हस्ताक्षर गराएको दाबी गर्नुभयो ।