काठमाडौँ, चैत ८ गते । सरकारी अस्पतालमध्ये मुख स्वास्थ्यको सबैभन्दा सस्तो राम्रो उपचार हुने वीर अस्पतालको ओपिडीमा मात्र दैनिक दुई सय जना नयाँ बिरामी दाँतसम्बन्धी समस्या लिएर आउने गरेका छन् ।
पुराना दाँतका बिरामीसमेत जोड्ने हो भने वीरमा दैनिक तीन सय जनाभन्दा बढी दाँतको समस्या लिएर आउने गरेका छन् तर त्यहाँ समयमा उपचार नहुँदा बिरामी मर्कामा पर्ने गरेका छन् । सुर्खेतदेखि दाँतको उपचार गर्न आउनुभएको जय कुँवरलाई वीरमा दाँत भर्न (आरसिटी) का लागि छ महिनापछिको समय दिइयो । उहाँलाई छ महिनासम्म काठमाडौँमा बसेर दाँतको उपचार गर्न कठिन छ । दाँत अत्यधिक दुखेकोले वीरमा आउनुभएका कुँवरलाई चिकित्सकले नदुख्ने एन्टिबायोटिक औषधी दिएर छ महिनापछिको पालो दिएर घर पठाइदिए । वीरमा समयमै दाँतको उपचार गर्न नपाई फर्कने जय जस्ता सयौँ बिरामी छन् ।
वीर अस्पतालका दन्तरोग विभागीय प्रमुख डा. प्रमोदकुमार कोइरालाले दाँत भर्न (आरसिटी) का लागि छ महिना कुर्नुपर्ने जानकारी दिँदै बिरामीको अवस्था हेरेर छिट्टै पनि समय दिन सकिने बताउनुभयो । “सामान्यतया न्यूनतम आरसिटीका लागि छ महिना कुर्नै पर्छ,” डा. कोइरालाले भन्नुभयो, “वीरमा बिरामीको अत्यधिक चापले गर्दा समयमा उपचार हुन सक्दैन ।” उहाँका अनुसार वीर अस्पतालमा दाँत विभागमा पाँच प्रकारको उपचार हुन्छ । बिरामीहरू सुरुमा स्क्रिनिङ गर्ने शाखा ओपिडीमा जाने गर्छन् । ओपिडीबाट बिरामीको समस्या हेरेर सर्जरी विभाग, दाँत मिलाउने, दाँत निकाल्ने, आरसिटी, सामान्य भर्ने जस्ता विभागमा पठाइन्छन् । यहाँ दाँत निकाल्ने काम छिटो हुने भए पनि आरसिटी तथा सर्जरी जस्ता समस्याका लागि समय लाग्ने उहाँ बताउनुहुन्छ ।
पछिल्लो समय मुखको क्यान्सरका बिरामी बढिरहेको जानकारी दिँदै उहाँले पेइङ ओपिडीमा आएर पनि बिरामीले परीक्षण गराउन सक्ने बताउनुभयो । पेइङमा भने बिरामीले सामान्यभन्दा डेढ गुणा बढी शुल्क तिर्नुपर्ने हुन्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सरकारी जुनसुकै अस्पतालमा बिरामीको चापका कारण ढिला पालो आउने गरेको बताउनुभयो । उहाँले मुख स्वास्थ्य नीतिलाई कार्यान्वयन गर्न नयाँ रणनीति आए पनि त्यसको पूर्ण कार्यान्वयनमा समस्या भएको बताउनुभयो । मानिसहरूले मुख स्वास्थ्यलाई ध्यान नदिँदा समस्या भएको भन्दै उहाँले बिरामी खप्नै नसक्ने अवस्थामा मात्र अस्पताल जाने गरेको बताउनुभयो । मुख स्वास्थ्यको जनशक्ति पनि कम छ । सरकारले नीतिगत रूपमा मुख स्वास्थ्य समस्यालाई समाधान गर्ने प्रयत्न गरेको उहाँको भनाइ छ ।
सरकारीमा मात्र नभएर निजी अस्पतालमा पनि दाँतको समस्या लिएर जाने बिरामी धेरै छन् । काठमाडौँ मेडिकल कलेजकी प्राध्यापक तथा दन्तरोग विशेषज्ञ डा. शैली प्रधानले दाँत समस्या लिएर केएमसी अस्पतालमा पनि दैनिक १५० बिरामी आउने गरेको बताउनुभयो । उहाँ सानैदेखि दाँतको हेरचाह नगर्दा दाँतका रोगी बढिरहेको बताउनुहुन्छ ।
यसैबिच बिहीबार विश्व मुख स्वास्थ्य दिवस मनाइएको छ । प्रत्येक वर्ष २० मार्चका दिन विश्व मुख स्वास्थ्य दिवस मनाउने गरिन्छ । ‘स्वस्थ्य मुख, सकारात्मक सोच’ भन्ने नारासहित मुख स्वास्थ्य दिवस मनाइएको छ । विश्व स्वास्थ्य सङ्गठनको अध्ययन अनुसार नेपालमा एकदेखि नौ वर्ष उमेर समूहका करिब ५१.२ प्रतिशत बालबालिकामा दाँत किराले खाने रोग लागेको छ । १५ वर्षभन्दा माथिको उमेर समूहका करिब १४.८ प्रतिशत जटिल प्रकृतिका गिजा रोगबाट प्रभावित रहेको देखिएको छ । नेपालमा प्रतिएक लाख जनसङ्ख्यामा ३.४ व्यक्ति ओठ र मुखको क्यान्सरबाट प्रभावित छन् ।