• ७ चैत २०८१, बिहिबार

एसइई शान्तिपूर्णरुपमा सञ्चालन : रुपन्देहीमा एक नक्कली परीक्षार्थी पक्राउ

blog

रुपन्देहीमा माध्यमिक परीक्षा (एसइई) दिइरहेका विद्यार्थी । तस्बिर : प्रतीक पौडेल

सपना थामी/काठमाडौं 

प्रतीक पौडेल/रुपन्देही 

काठमाडौँ, चैत ७ गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले एसइई शान्त एवम् मर्यादित वातावरणमा सम्पन्न भएको बताउनुभएको छ । 

उहाँले गोरखापत्र अनलाइनसँग कुरा गर्नुहुँदै देशभरका दुई हजार ७९ परीक्षा केन्द्र तथा जापानमा भाइवरमार्फत भएको परीक्षा सहज वातावरणमा सम्पन्न भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “देशभर असाध्यै शान्त ढङ्गले परीक्षा सञ्चालन भयो । कहीँ पनि त्यस्तो समस्या भएन । खास गरी, मधेसमा पाँच, सात वटा अनुगमन टोली बनाएर असाध्यै मर्यादित रूपमा परीक्षा सञ्चालन भएको छ ।” 

उहाँले रुपन्देहीमा एक नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । यसबाहेक कुनै पनि छुटफुट घटना नभएको तथा प्रश्न पत्र, प्रश्न र परीक्षार्थीका सम्बन्ध समस्या नभएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “देशको कुनै पनि भागमा प्रश्न पत्र, प्रश्न र परीक्षार्थीसम्बन्धी समस्या भएन अहिलेसम्म । रुपन्देहीमा एउटा नक्कली परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । त्यसबाहेक छुटफुट घटना घटेको छैन ।”

उहाँका अनुसार प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको निर्णयले प्रदेशमा र जिल्ला परीक्षा समन्वय समितिको निर्णयले जिल्ला भरी जुन किसिमको अनुगमन समिति बनेको छ त्यही अनुसार निर्बाध रूपले अनुगमन टोली परिचालन हुने नीति रहेको छ । जापानका लागि एम्बेसीबाट अनुगमन हुने उहाँको भनाइ छ । 

उहाँका अनुसार पाँच लाख १४ हजार ७१ विद्यार्थी एसइईमा सहभागी हुनुभएको छ । एसइई को पहिलो दिन बिहीबार अङ्ग्रेजी विषयको परीक्षा सम्पन्न भएको हो ।

रुपन्देहीमा भेटिए एकजना नक्कली परीक्षार्थी

यसैबीच रुपन्देहीबाट गोरखापत्र समाचारदाता प्रतीक पौडेलका अनुसार, जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नं ८ मा रहेको परीक्षा केन्द्र लीलाराम न्यौपाने माध्यमिक विद्यालयमा परीक्षा दिँदै गरेको अवस्थामा नक्कली परीक्षार्थी फेला परेका हुन् ।

परीक्षा केन्द्रका प्रमुखरूप कुमार रायमाझीका अनुसार परीक्षा चलिरहेको बेला प्रवेश पेपरमा हस्ताक्षर गर्न जाने बेला प्रवेश पत्रमा भएको तस्बिर र परीक्षार्थीको अनुहार नमिले पछि सोधपुक्ष गर्दा नक्कली विद्यार्थी भएको पाइएको हो ।

रायमाझीले भन्नुभयो, तिलोत्तमा नगरपालिका स्थित शान्ति नमुना माध्यमिक विद्यालयमा ११ कक्षामा अध्ययनरत एक विद्यार्थी सिद्धार्थनगर नगरपालिकामा रहेको सु संस्कृत माध्यमिक विद्यालयका एक विद्यार्थीको परीक्षा दिनका लागि आएको पाइएको छ । रायमाझीले थप्नुभयो, “ग्रेड वृद्धिको परीक्षा आज मात्र रहेछ उक्त विद्यार्थीको, त्यसमा नक्कली परीक्षार्थी प्रयोग भएको पाइएपछि रद्द गरिएको छ” ।

जिल्ला शिक्षा समन्वय इकाई रुपन्देही प्रमुख माधव बन्जाडेले पनि एक जना नक्कली परीक्षार्थी फेला परेको र अन्य स्थानमा शान्तिपूर्ण ढङ्गले परीक्षा चलिरहेको बताउनुभयो ।

रुपन्देहीमा प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको नेतृत्वमा खटिएको सुरक्षा निकायका प्रमुखहरूको टोलीले परीक्षा केन्द्रको अनुगमन गरिरहेको छ । घिमिरेका अनुसार परीक्षा शान्तिपूर्ण ढङ्गले चलिरहेको छ ।   

रुपन्देही जिल्ला बाट २२ हजार ९ सय ७५ विद्यार्थी परीक्षामा सहभागी भएका छन् । माध्यमिक शिक्षा परीक्षा २०८१ मा साधारण नियमित तर्फ १७ हजार ५ सय १८ र ग्रेड वृद्धि ४ हजार ९ सय ३९ जना रहेका छन् । प्राविधिक तर्फ नियमित ४ सय ३ जना, ग्रेड वृद्धि १ सय १५ जना गरी  २२ हजार ९ सय ७५ रहेका छन् । गत वर्षको तुलनामा यस वर्ष ३ हजार २ सय ८० विद्यार्थी बढी रहेका  छन् ।

१७६ वटा सामुदायिक विद्यालय र १७० संस्थागत गरी जम्मा ३ सय ४६ विद्यालयहरूका विद्यार्थीहरूको एसइई परीक्षामा सहभागिता रहेका छन् । जसमा सबै भन्दा धेरै परीक्षार्थीहरू रहेको परीक्षा केन्द्रः गीर्वाण संस्कृत तथा साधारण मावि मणिग्राम र शान्ति नमुना मा वि  मा ६ सय ५८, सबै भन्दा सानो परीक्षा केन्द्रः नवरत्न मावि सेमलार बुटवल रहेको छ ।