• २ चैत २०८१, शनिबार

गुम्बाले जोगाएको गाउँ, बसाइ सर्न मान्दैनन् गाउँले

blog

लिमीको एकै स्थानमा बस्ती भएको हल्जी गाउँ । तस्बिर: राजन रावत

राजन रावत

हुम्ला, चैत २ गते । नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीको हल्जी गाउँका स्थानीय स्थायी रूपमा बसोबास सार्न मान्ने गर्नु भएको छैन । लिमीको पुरानो, धार्मिक र एतिहासिक गुम्बाको डरले हल्जी गाउँका स्थानीय बसाई सराई गर्न डराई रहनु भएको हो ।

हल्जी गाउँका ८४ वर्षका पुरुष छिरिङ नुर्ब तामाङले हल्जी थुक्तेन रिन्छिलिङ गुम्बाको डरले स्थानीयहरू स्थायी रूपमा अन्यत्र बसाई सराई गर्न डर मान्ने गरेको बताउनुभयो । उक्त गुम्बा कै डरले हालसम्म लिमीका तीन गाउँ मध्य घना बस्ती भएको गाउँको रूपमा हल्जी गाउँ चिनिँदै आएको उहाँले बताउनुभयो । सो गुम्बा एक हजार दुई सय वर्ष पुरानो भएको कारण यसको धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्त्व रहेको कारण स्थानीयहरू डर मानेर नै घर छोड्न नमान्ने उहाँले बताउनुभयो । व्यापार व्यवसाय तथा अन्य कामका सिलसिलाले बाहिर गए पनि गाउँ फर्कनु पर्ने बाध्यता स्थानीयमा रहेको उहाँले बताउनुभयो । 

हल्जी गाउँकी सबै भन्दा ज्येष्ठ नागरिक ८७ वर्षीया मेन्डोक लमु तामाङले गुम्बाको कारण गाउँ छाडेर बाहिर गए राम्रो नहुने भएको कारण पनि कोही जान सक्ने अवस्थामा नरहेको बताउनुभयो । उहाँले गाउँ छाडेर काठमाडौँ पुगेका एक जनाको हाल घरमा बिरामी भई रहने, केटाकेटीको पढाई पनि राम्रो नभएको र व्यापारमा सफलता प्राप्त गर्न नसक्ने अवस्थामा रहेको बताउनुभयो । त्यसैले जस्तो समस्या भए पनि गाउँमा बस्नै पर्ने बाध्यात्मक अवस्था रहेकोले हल्जीवासीले हालसम्म गाउँ छोडेर जाने सङ्ख्या ज्यादै न्यून रहेको बताउँदै त्यो पनि धेरै वर्ष अगाडी गएको र अहिले उक्त परिबार समस्यामा परेको उहाँले बताउनुभयो । त्यही भएर जो कोहीले पनि हल्जी गाउँ छाडेर जान तयार नरहेको उहाँले बताउनुभयो । लिमीका तीन गाउँ मध्य तिलबाट ६६ घरधुरीमा हाल २४ घरधुरी मात्र गाउँमा बसोबास गर्दै आएको र बाँकी सबैले गाउँ छोड्नु भएको छ भने अर्को जाङ गाउँका ४४ घरधुरी मध्य हाल एउटा पनि घरधुरी गाउँमा बसेको छैन ।

 लिमीका वडा अध्यक्ष एवं हल्जी गाउँका स्थायी बासिन्दा पाल्जोर तामाङले सामाजिक र धार्मिक मान्यताको कारण हल्जी गाउँ छोड्न कोही पनि तयार नरहेको बताउनुभयो । आर्थिक रूपमा बलिया जो काठमाडौँ लगायतका सहरमा घर निर्माण गरे बस्ने हैसियत राख्ने भए पनि धार्मिक रूपमा महत्त्वपूर्ण गुम्बाका डरले  गाउँ छोड्न नसक्ने अवस्था रहेको उहाँले बताउनुभयो । जुन व्यक्ति हल्जी गाउँमा रहँदा आर्थिक रूपमा बलियो, परिवारका सदस्यहरूको स्वास्थ्य राम्रो भए पनि गाउँ छोडेपछि भने राम्रो हुन नसकेको हालको अवस्थाले देखाएको वडा अध्यक्ष तामाङले बताउनुभयो । उक्त गाउँमा सामाजिक कार्यमा काम गर्ने परिबार मात्र हल्जीमा ८१ घरधुरी रहेका छन् भने अन्य एकल महिलाहरू दश गरी ९१ परिबार हल्जीमा बसोबास गर्दै आएको उहाँले बताउनुभयो ।

उक्त गाउँको जनसङ्ख्या ४८८ रहेकोमा केही विद्यार्थी र व्यापारी गरी बिस प्रतिशत मानिस मात्र गाउँ बाहिर त्यो पनि काममा जानु भएको छ । उहाँहरू पनि आफ्नो काम सकिएपछि गाउँ फर्कनै पर्ने हुन्छ । 

गाउँ छोडेर स्थायी रूपमा बाहिर जानेलाई गुम्बाले गर्दा राम्रो नहुने धार्मिक मान्यता रहेको कारण गाउँ छोड्ने हिम्मत कसैले गर्न नसक्ने उहाँले बताउनुभयो । वषमा तीन देखि चार पटक काठमाडौँ पुग्ने वडा अध्यक्ष तामाङ पनि गुम्बा कै डरको कारण गाउँ छोड्न नसक्ने स्थितिमा रहेको बताउनु हुन्छ । गुम्बामा पुराना र धेरै महत्त्वपूर्ण र महँगा मूर्ति र आकृतिहरू कोरिएका छन् । उक्त गुम्बालाई पुरानो भए पनि हल्जीबासी त्यसको पुन निर्माण गर्न पनि डराई रहनु भएको छ । मुख्य गुम्बालाई बलियो बनाई राख्न काठको टेको लगाएर जोगाइएको छ ।