• १ चैत २०८१, शुक्रबार

बागमती प्रदेश विश्वविद्यालय

आङ्गिक क्याम्पसमा समायोजन हुन आवेदन माग

blog

बागमती प्रदेश विश्वविद्यालयको हेटौँडामा रहेको विश्वविद्यालय संरक्षक समितिको सचिवालय । तस्बिर : राममणि दाहाल

राममणि दाहाल

हेटौँडा, चैत १ गते । बागमती प्रदेश सरकारको गौरवको योजनामा रहेको बागमती प्रदेश विश्वविद्यालयले बागमती प्रदेशभित्र सञ्चालनमा रहेका क्याम्पसहरूलाई आङ्गिक क्याम्पसको रूपमा समायोजनका लागि प्रक्रिया अगाडि बढाएको छ।

नेपालका कुनै विश्वविद्यालयबाट सम्बन्धन लिई बागमती प्रदेशभित्र सञ्चालनमा रहेका क्याम्पसहरूलाई बागमती प्रदेश विश्वविद्यालयको आङ्गिक क्याम्पसको रूपमा समायोजन भई सञ्चालन हुनसक्ने गरी प्रक्रिया अगाडि बढाएको हो । 

हेटौँडामा केन्द्रीय कार्यालय रहेको विश्वविद्यालयले प्रदेश विश्वविद्यालयको आङ्गिक क्याम्पसको रूपमा समायोजन भई सञ्चालनहुन आवेदन माग गर्दै बागमती प्रदेश विश्वविद्यालयको आङ्गिक क्याम्पसको रूपमा सञ्चालन हुने र मातृ विश्वविद्यालयसँगको सम्बन्धन अन्त्यगर्ने सम्बन्धी क्याम्पस सञ्चालक समितिको निर्णय अनिवार्य गरेको छ ।

विश्वविद्यालयका उपाध्यक्ष डा. कुसुमराज सुवेदीले नेपालका कुनै विश्वविद्यालयबाट सम्बन्धन लिई बागमती प्रदेशभित्र सञ्चालनमा रहेका क्याम्पसहरूले प्रदेश विश्वविद्यालयको आङ्गिक क्याम्पसको रूपमा समायोजन भई सञ्चालन हुनसक्ने बताउनुभयो । उहाँले बागमती प्रदेश उच्च शिक्षा ऐन, २०७८ को दफा ९(३) र (४), प्रदेश उच्च शिक्षा नियमावली, २०७९ को नियम १७ तथा बागमती प्रदेश विश्वविद्यालयको विधान, २०६१ को दफा ३६ बमोजिमप्रदेश विश्वविद्यालयको 

आङ्गिक क्याम्पसको रूपमा सञ्चालन गर्न चाहेमा एक महिनाभित्र विश्वविद्यालय संरक्षक समितिको सचिवालय, हेटौँडामा निवेदन दर्ता गराउनुपर्ने बताउनुभयो । 

समायोजन हुन इच्छुक क्याम्पसको वर्तमान अवस्था, सञ्चालित कार्यक्रम, सोअनुसार विद्यार्थी सङ्ख्या, शिक्षक कर्मचारीको तहगत (स्थायी, अस्थायी र करार) विवरण, उनीहरूको पारिश्रमिक विवरण, शिक्षण शुल्क विवरण, क्याम्पसको आर्थिक, भौतिक सम्पत्ति, आर्थिक दायित्वसमेत खुल्ने प्रोफाइल आवश्यक हुन्छ उपाध्यक्ष सुवेदीले भन्नुभयो, क्याम्पस स्थापना÷सम्बन्धन स्वीकृतिपत्रहरू, क्याम्पसको स्वीकृत विधान र क्याम्पसको गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन समावेस गर्नु आवश्यक हुन्छ ।

उहाँका अनुसार क्याम्पसमा सञ्चालनहुन सक्ने र चाहेको शैक्षिक कार्यक्रमको सम्भाव्यता अध्ययन प्रतिवेदनसहित निवेदन दिनुपर्छ । 

आङ्गिक क्याम्पसका लागि आवेदनहरू प्राप्त भएपछि  छानबिन गरी सम्बन्धित क्याम्पसमा सञ्चालनमा हुनसक्ने शैक्षिक कार्यक्रमहरूको औचित्यसम्भाव्यता र विश्वविद्यालयको व्यवस्थापकीय पक्षसमेतलाई ध्यान दिँदै विश्वविद्यालयले क्रमशः आङ्गिक क्याम्पसको रूपमा ग्रहण गर्ने गरी बागमती प्रदेश उच्च शिक्षा ऐन, २०७८ उच्च शिक्षा नियमावली, २०७९ एवं विश्वविद्यालयको विधान २०८१ बमोजिम प्रक्रिया अगाडि बढाइने भएको छ । 

विश्वविद्यालयले आगामी भदौबाट अध्यापनगर्ने गरी काम गरिहेको छ । शैक्षिक तालिकासँगै पाठ्क्रम बनाउने काम भइरहेको बताउँदै उपाध्यक्ष सुवेदीले भन्नुभयो, बजारको मागअनुसार सिपमूलक र स्वरोजगारमूलक शिक्षालाई प्राथमिकता दिएका छौँ । 

उपाध्यक्ष सुवेदीले विश्वविद्यालयले विज्ञान तथा प्रविधि, व्यवस्थापन तथा कानुन र शिक्षा तथा सामाजिक विकास संकायगरी तीन वटा सङ्कायमा आगमी आर्थिक वर्षबाट अध्यापन सुरु गर्ने गरी काम भइरहेको बताउनुभयो ।