सन्तोष दहित
दाङ, चैत १ गते । प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबारको खेलमा विभागीय टिम नेपाल पुलिस क्लबले एपिएफ क्लबलाई दुई विकेटले पराजित गरेको छ ।
लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा एपिएफ क्लबले दिएको ९५ रनको लक्ष्य पुलिस क्लबले २६ दशमलव २ ओभरमा ८ विकेटको क्षतिमा ९७ रन बनाएर भेट्टाएको हो ।
सामान्य लक्ष्य पछ्याएको पुलिसले जित निकाल्न सङ्घर्ष गर्यो । आठ विकेट गुमाई सकेको पुलिस क्लबलाई गुल्सन झाले चौका प्रहार गर्दै जित दिलाउनुभयो ।
गुल्सनले २ चौकासहित अविजित १२ रन बनाउनुभयो । कुशल भुर्तेलले २ चौकासहित ३१ रन बनाउँदा अर्जुन साउदले ११ रन, रासिद खानले १० रनको योगदान दिनुभयो । एपीएफका लागि भुवन कार्कीले ७ ओभरमा ३ मेडनसहित ३३ रन खर्चेर ३ विकेट लिनुभयो । यसैगरी, कप्तान रोहित पौडेल र अभिशेष गौतमले समान २–२ विकेट लिनुभयो । कमल ऐरीको नाममा १ विकेट रह्यो ।
यसअघि, विभागीय टिम एपिएफ क्लबले नेपाल पुलिस क्लबविरुद्धलाई ९५ रन बनाएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको एपिएफ क्लब २७ दशमलव ४ ओभरमा अलआउट हुँदै जम्मा ९४ रनमा समेटिएको थियो ।
नेपाल पुलिस क्लबका ललित नारायण राजवंशीले महत्त्वपूर्ण ६ विकेट लिनुभयो । उहाँले ७.४ ओभर बलिङ गर्दा १८ रन दिएर ६ विकेट हात पार्नुभएको हो । ललितको आक्रामक बलिङले एपिएफको सस्तैमा समेटिएको हो ।
एपिएफका लागि लोकेश बमले २२ रन, आसिफ शेखले १८ रन, सन्दीप जोराले २६ रन, अमर रौतेलाले १० रन जोड्नु बाहेक अरू खेलाडी क्रिजमा टिक्न सकेनन् ।
ललितले आसिफ शेख, सन्दीप जोरा, सुमित महर्जन, भुवन कार्की, कमलसिंह ऐरी र अभिशेष गौतमको विकेट लिनुभएको हो । पुलिसका लागि सागर ढकाल, करण केसी, गुल्सन झा, कुशल भुर्तेलले समान १–१ विकेट लिनुभयो । राजवंशी प्लेयर अफ द म्याच हुनुभयो ।
पछिल्लो तीन खेलमा पुलिस क्लब अपराजित छ भने एपिएफले तीन खेलमा जित र एक मा हार बेहोरेको छ । एपीएफविरुद्ध विजयी भएसँगै पुलिसले तीन खेलमा ६ अङ्क जोड्दै दोस्रो स्थानमा सुरक्षित गरेको छ ।
शुक्रबारको हारसँगै एपीएफ क्लब तेस्रो स्थानमा पुगेको छ ।६ अङ्कसहित आर्मी क्लब तालिकाको शीर्ष स्थानमा छ ।
नेपाल क्रिकेट सङ्घ क्यानको आयोजना, प्रदेश क्रिकेट सङ्घको समन्वय तथा दाङ क्रिकेट सङ्घको व्यवस्थापनमा जारी प्रतियोगितामा तीन विभागीय आर्मी क्लब, एपीएफ क्लब र नेपाल पुलिससहित सात प्रदेश टिमले प्रतिस्पर्धा गर्दैछन् ।