• १ चैत २०८१, शुक्रबार

वीरेन्द्रनगरको प्रगति सार्वजनिक

blog

वीरेन्द्रनगर नगरपालिकाले बयलकाँडागढीमा आयोजना गरेको प्रगति समीक्षा सार्वजनिक कार्यक्रम । तस्बिर : ललित बसेल

सुर्खेत समाचारदाता 

सुर्खेत, चैत १ गते । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को प्रगति समीक्षा सार्वजनिक गरेको छ । वीरेन्द्रनगर नगरपालिका–१४, गढीमा आयोजना गरिएको कार्यक्रममा नगरपालिकाले पूर्वाधार, सामाजिक विकास, सुशासन र पारदर्शितालगायत अन्य विविध पक्षको प्रगति सार्वजनिक गरेको हो ।

विसं १८४०–५० तिर निर्माण भएको उक्त गढी अहिले भत्किएर भग्नावशेषमा परिणत भएको छ । नगरपालिकाभित्रै परेको पर्यटकीय र ऐतिहासिक स्थल भएर पनि पुनर्निर्माण नहुँदा ओझेलमा 

परेको भन्दै नगरपालिकाले पत्रकार महासङ्घ सुर्खेतको समन्वयमा आफ्नो प्रगति समीक्षा गढीमै सार्वजनिक गरेको हो । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बाँस्कोटाले नगरपालिकाले विशेष गरी पूर्वाधार, हरित नगर र शिक्षा स्वास्थ्यलाई प्राथमिकता दिई त्यसमा लगानी गरेको जानकारी दिनुभयो । सुर्खेत उपत्यकाको खानेपानीको सङ्कट टार्न भेरी लिफ्ट खानेपानीलाई पनि प्राथमिकतामा दिइएको उहाँको भनाइ छ । नगरपालिकाले सात किमी सडक कालोपत्रे, ७२ किमी कच्ची सडक र १६ किमी सडक ग्राभेल गरेको छ । यस्तै ४९ वटा विद्यालय भवन मर्मत गरिएको, ८८३ वटा नयाँ घर नक्सा दिइएको, ७१२ वटा डिप बोरिङ खनिएको छ । नगरपालिकाले कक्षा १ देखि ५ सम्म स्थानीय पाठ्यक्रम तयार गरी पढाइ थालिएको र १२ वटा वडामा सामुदायिक विद्यालयमा स्थानीय दिवा खाजाको ‘मेगा किचन’ कार्यक्रम सञ्चालन गरिएको जानकारी प्रमुख प्रशासकीय अधिकृत बाँस्कोटाले दिनुभयो । 

नगरभित्रका दुई हजार ७५३ गर्भवती तथा सुत्केरीलाई निःशुल्क सेवा दिइएको, सिकलसेल बिरामी उपचारका लागि प्रदेश अस्पताललाई मेसिन हस्तान्तरण गरिएको, गर्भवतीको निःशुल्क भिडियो एक्सरे सेवा प्रदान गरिएको, ‘क’ वर्गका अपाङ्गता भएकालाई घरमै पुगेर नागरिकता तथा परिचयपत्र प्रदान गरिएको उहाँले बताउनुभयो । उज्यालो नगर बनाउनका लागि सुब्बाकुनादेखि बाँगेसिमल र मङ्गलगढीदेखि लाटीकोइलीसम्म सडकबत्ती जडान गरिने, हरित नगर बनाउन हरियाली प्रवर्धन गरिने छ । 

यति हुँदा पनि नगरपालिकामा कर्णालीकै १० वटै जिल्लाका बासिन्दा बसोबास गर्ने भएकाले पर्याप्त सेवा प्रदानमा कठिनाइ भोग्नु परेको छ । बजेटको सीमितता, गुरुयोजना अनुसार सडक लगत कट्टा नभएको, फोहोर व्यवस्थापन गर्न ल्याडफिल्ड साइटलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन नसकिएको, प्रमुख प्रशासकीय अधिकृत छिटो छिटो सरुवा हुने, जग्गा प्राप्तिमा कठिनाइ र भूमि समस्याले गर्दा नगरपालिकाको सोच अनुसार काम गर्न नसकेको उहाँले बताउनुभयो । 

वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले सुशासन र पारदर्शितालाई नगरपालिकाले प्राथमिकतामा राख्दै काम गरेको दाबी गर्नुभयो । उहाँले नगरपालिकालाई व्यवस्थित गर्न प्रयास धेरै गरिएको र विगतको तुलनामा अहिले धेरै परिवर्तन भएको जिकिर गर्नुभयो । 

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले ऐतिहासिक बयलकाँडागढीको पर्यटन प्रवर्धनका लागि नगरपालिकाले पत्रकार महासङ्घसँग समन्वय गरी आफ्नो प्रगति समीक्षा गढीमा आयोजना गरेको बताउनुभयो । उहाँले पूर्वाधार, सामाजिक विकास, शिक्षा, स्वास्थ्य र स्वरोजगारमा बढी लगानी गरेको जानकारी दिनुभयो । 

प्रदेश राजधानीको नगरपालिका भएकोले यहाँको जनसङ्ख्या बढ्दै गएको, फोहोर व्यवस्थापनमा कठिनाइ भोग्नु परेको र सीमित बजेटले धेरै जनसङ्ख्यालाई सेवा दिनु परेको उहाँले बताउनुभयो । नगरपालिकालाई उपमहानगरपालिकामा स्तरोन्नति गर्न विभिन्न सूचक पूरा गर्ने काम पनि जारी रहेको नगरप्रमुख ढकालको भनाइ छ ।