• १२ साउन २०८१, शनिबार

प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन मितिबारे बहस सुरु

blog

काठमाडौं, जेठ १८ गते । स्थानीय तह सदस्य निर्वाचन २०७९ सम्पन्न भएर अन्तिम परिणाम आउनेक्रम करिब सम्पन्न भएपछि प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको बहस शुरुभएको छ । सरकारले आगामी मंसिर अगावै प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन सम्पन्न गर्नेगरी छलफल प्रारम्भ गरेपछि त्यसको मिति तय गर्ने विषयमा वहस शुरुभएको हो । 

प्रतिनिधिसभा र प्रदेश सभाको कार्यकाल पाँच वर्षको हुने व्यवस्था छ । यसअघि २०७४ मंसिर १० र मंसिर २१ गते दुई चरणमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भएको थियो । सो मितिलाई आधार मान्दा मंसिर २२ गते पाँच वर्ष पुग्ने देखिन्छ । सरकारमा सहभागी सत्ता गठबन्धन दलमा पनि सो मितिबारेमा छलफल भइरहेको समाचार आइरहेको छ । 

पाँच वर्षे अवधि पुग्ने विषयका बारेमा चर्चा भइरहेकाबेला कुन मितिलाई पाँच वर्ष पुग्ने मिति मान्ने बारेमा पनि वहस फरक फरक छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलकाअनुसार निर्वाचन परिणाम आएको पहिलो दिन या संसद बैठक बसेको पहिलो दिनलाई पनि पाँच वर्षे मितिको आधार तय गर्न सकिन्छ । तर त्यस विषयमा अझै ठोस छलफल शुरु भइनसकेकाले अहिले बोल्दा हतार हुने उहाँले बताउनुभयो । २०७४ को निर्वाचनको पहिलो परिणाम मंसिर २२ गते आएको थियो । 

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६ (१) ले निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले निर्वाचनको मिति तय गर्ने व्यवस्था छ । सोअनुसार अझै सरकारले आयोगसँग कुनै परामर्श र सल्लाह माग नगरेकाले निर्वाचनको मिति तय गर्ने विषयमा आयोगले छलफल नथालेको आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरले बताउनुभयो । नगर तथा पालिका समन्वय परिषद निर्वाचन अझै जारी रहेकाले प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन मितिबारेमा छलफल हुन नसकेको उहाँले बताउनुभयो । 

प्रतिनिधिसभा र प्रदेश सभाको कार्यकाल पाँच वर्षको हुने व्यवस्था छ । यसअघि २०७४ मंसिर १० र मंसिर २१ गते दुई चरणमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भएको थियो ।

सरकारले परामर्श माग गरेमा आयोगमा त्यस विषयमा छलफल हुने र ठोस निर्णय गरेर सरकारलाई उपयुक्त परामर्श दिने उहाँले गोरखापत्र अनलाइनलाई बताउनुभयो । यसअघि २०७४ मंसिर १० र २१ गते दुई चरणमा निर्वाचन सम्पन्न भएकाले त्यसलाई आधार बनाएरै मितिबारेमा छलफल भई आयोगले निर्णय लिने उहाँले बताउनुभयो । तर अझै त्यसबारेमा छलफल प्रवेश नभएको उहाँको भनाई छ । 

तत्कालिन सरकारले २०७४ भदौ ५ गते बसेको मन्त्रिपरिषदको निर्णयअनुसार प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा मंसिर १० गते गर्ने निर्णय गरेको थियो । तर लगत्तै पछि भदौ १४ गते बसेको मन्त्रिपरिषदको अर्को बैठकले मंसिर १० र २१ गते दुई चरणमा निर्वाचन गर्ने मिति तय गरेको थियो । 

निर्वाचन आयोगले कुनै पनि निर्वाचन गर्न सामान्यतः १२० दिन समय लाग्ने बताए पनि २०७४ सालको निर्वाचन पनि आयोगले ८४ दिनमै सफलतापूर्वक सम्पन्न गरेको थियो । स्थानीय तह सदस्य निर्वाचन २०७९ सफलतापूर्वक सम्पन्न भएपछि अर्को निर्वाचनका लागि सरकारले तयारी थालेको छ । त्यसकालागि प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन दलका नेताहरुसँग आन्तरिक छलफल शुरु गर्नुभएको छ । प्रधानमन्त्री देउवाले कात्तिक या मंसिरमा निर्वाचन गराउनेगरी छलफल थाल्नुभएको गठबन्धन दलका नेताहरुको भनाइ छ ।

Author
लक्की चौधरी

उहाँ गोरखापत्र अनलाइनका उपसम्पादक हुनुहुन्छ ।