• १२ साउन २०८१, शनिबार

पामद्वारा ओलम्पियन सब्रिना सम्मानित

blog

सब्रिनालाई प्रशंसा पत्र प्रदान गरिदै । तस्बिर सौजन्य : पाम

काठमाडौं, जेठ १८ गते । बन्दी सहायता नियोग (पाम) ले चार पटक ओलम्पिकमा सहभागिता जनाइ सक्नुभएकी अस्ट्रियाकी जुडो खेलाडी डा.सब्रिना फिल्जमोसरलाई बुधबार सम्मान गरेको छ ।

विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी सब्रिनालाई जुडो खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान गरिरहेको पामले एकलटारस्थित आफ्नै जुडो हलमा सम्मान गरेको हो । सब्रिनाले गत मे १६ तारिखमा सगरमाथाको सफल आरोरण गर्नुभएको थियो । 

सगरमाथा आरोहण यात्रा सब्रिनाले पश्चिम बंगालको डिघास्थित समुद्री सतहको जिरो लेभलबाट सुरु गर्नुभएको थियो । त्यहाँदेखि बेस क्याम्पसम्म पुग्न सब्रिनाले साइकल र पैदल यात्रा गर्नुभयो । सब्रिनाको यात्रामा १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता साइक्लिस्ट खेलाडी लक्ष्मी मगरले समन्वय गर्नुभएको थियो । 

बेइजिङ ओलम्पिकमा पहिलोपटक सहभागिता जनाएकी सब्रिनाले लन्डन, रियो र टोकियो ओलम्पिक खेल्नुभएको छ । विश्व च्याम्पियनसिपमा २ कांस्य जित्न सफल सब्रिनाले युरोपियन च्याम्पियनसिपमा १० पदक जित्नुभएको छ । सगरमाथाअघि सब्रिनाले आमादब्लम र मनास्लुको पनि सफल आरोहण गर्नुभएको थियो । 

नेपाल आएका बेला सब्रिनाले पामका जुडो खेलाडीलाई प्रशिक्षण समेत दिनुहुन्छ । सोलुखुम्बुको मन्जुमा रहेको एभरेष्ट जुडो क्लबलाई सामाग्रीसहित सब्रिनाले विशेष सहयोग गर्दै आएको पामका जुडो प्रशिक्षक सूर्यनारायण श्रेष्ठले जानकारी दिनुभयो । पाममा अहिले ३५ जना आश्रित छन् । ती मध्ये ३४ जना जुडो खेल्छन् । सागका पदक विजेता मनीता श्रेष्ठ प्रधान, इन्द्रबहादुर श्रेष्ठलगायत खेलाडी पामकै उत्पादन हुन् ।

सब्रिनालाई पामका सचिव प्रेम लामा, सदस्य कृष्णबहादुर श्रेष्ठ र नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले प्रशंसा पत्र र मायाको चिनो प्रदान गरी सम्मान गर्नुभयो ।कार्यक्रममा सब्रिनाकै भ्रमण टोलीमा रहेका आईजेएफका मिडिया डाइरेक्टर निकोलस, समाचारदाता जोइ र क्यामेराम्यान रोविनलाई पनि मायाको चिनो प्रदान गरिएको थियो । 


सब्रिनासँग सामूहिक तस्बिर खिचाउँदै पामका जुडो खेलाडी । तस्बिर सौजन्य : पाम