• २ असार २०८१, आइतबार

पीडितलाई चाँडो न्याय दिउँ : कानूनमन्त्री शर्मा

blog

लक्ष्मी चौधरी

जनकपुरधाम, जेठ १८ गते । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले द्वन्द्वको पीडालाई नलम्ब्याइ पीडितलाई समयमा न्याय दिनुपर्ने बताउनुभएको छ । जनकपुरधाममा बुधबार आयोजित ‘संक्रमणकालीन न्याय सम्बन्धी कानून तथा संरचनागत सुधार सम्बन्धी परामर्श’ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभयो । द्वन्द्वका पीडितले समयमा न्याय नपाउँदा पीडितलाई झन् पीडा भइरहेको उहाँको भनाई छ ।  

‘द्वन्द्वको घाउलाई धेरै पाल्नु हुँदैन, घाउलाई धेरै पाल्यौं भने क्यान्सर हुन्छ, त्यसैले यसलाई उपचार  गर्नुपर्छ’ उहाँले भन्नुभयो । कुनै पनि समस्याको समयमा समाधान हुनुपर्ने बताउँदै पीडितलाई सक्दो चाँडो न्याय दिन सम्बन्धित निकायसँग उहाँले आग्रह गर्नुभयो । पीडित नभएकाहरुलाई केही रकम पाउने लोभमा पीडित नबन्न आग्रह समेत उहाँले गर्नुभयो ।   

मन्त्री शर्माले भन्नुभयो, “घटनाको सत्यतथ्य खोजीभन्दा पनि कारवाही प्रक्रियातर्फ बढी अग्रसर भएको देखियो ।” कारवाही गर्ने र नगर्नेतर्फ बढी केन्द्रीत भएका कारण शान्ति प्रक्रियाले ठोस रुप लिन नसकेको उहाँले चर्चा गर्नुभयो । शान्ति सम्झौता राष्ट्रको सम्झौता र प्रतिवद्धता रहेको बताउनु हुँदै पीडितलाई न्याय दिएर प्रक्रिया चाँडै टुङ्गो लगाउनुपर्ने उहाँले बताउनुभयो । 

मन्त्रालयका प्रमुख सचिव उदयराज सापकोटा, सोही मन्त्रालयका सहसचिव, अधिवक्ता गीता थपलिया लगायत  कानुनी सहयोग तथा परामर्श केन्द्रकी कार्यकारी अध्यक्ष अधिवक्ता अनिता थपलिया,  मानवअधिकार आयोग प्रदेश, नागरिक समाज, पीडित लगायतको उपस्थिति थियो ।