विनय कर्ण
कल्याणपुर (सप्तरी), चैत २८ गते । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा ग्यास लिक भएर आगलागी हुँदा लाखौँको क्षति भएको छ ।
नगरपालिकाको वडा नम्बर १ भारदह टोलका धर्मदेव दासका चार छोराहरू अनिल दास, सुनिल दास, दिलिप दास र अरविन्द दासको संयुक्त घरमा शनिबार बिहान करिब ७ बजे कोशी ग्यास लिक भई आगलागी हुँदा २४ लाख ३८ हजार रुपियाँ बराबरको क्षति भएको हो ।
पिलरको खम्बा, टाटीबेरा र जस्ताको छानो भएको चार कोठे मुख्य घर, गोठ तथा भान्सा घर पूर्णरूपमा जलेर जलेर नष्ट भएको छ।
आगलागीबाट नगद तीन लाख ५० हजार, फर्निचर दुई लाख ५० हजार, चाँदी ७० तोला, सुन २ तोला, खाद्यान्न, लत्ताकपडालगायत सामग्री नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।
आगो प्रहरी, स्थानीयवासी र नगरपालिकाको दमकलको सहयोगमा आगो करिब एक घण्टापछि बिहान ८ बजे पूर्णरूपमा नियन्त्रणमा लिइएको थियो ।