• २८ फागुन २०८१, बुधबार

कृषक, कर्मचारी र पत्रकार सम्मानित

blog

साहारा लिम्बू

फुङलिङ, फागुन २७ गते। ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले कृषक, कर्मचारी तथा पत्रकारलाई पुरस्कृत गरेको छ। गाउँपालिकाले ८ औँ स्थापना दिवसको अवसरमा चार–चार जना कृषक र कर्मचारी तथा एक जना पत्रकारलाई नगदसहित पुरस्कृत गरेको हो। 

पालिकाले विभिन्न वडाका चार जना उत्कृष्ट किसानलाई जनही ५० हजार रुपियाँका दरले पुरस्कृत गरेको गाउँपालिका अध्यक्ष केशरकुमार मेन्याङबोले जानकारी दिनुभयो। 

उहाँका अनुसार वडा नम्बर १ नाङ्खोल्याङका प्रकाश राई, वडा नम्बर २ थेचम्बुका लक्ष्मी कटुवाल, वडा नम्बर ३ तिरिङ्गेका राजकुमार इजम र पदमजङ लिम्बूलाई समान ५० हजार रुपियाँसहित प्रशंसा पत्रले सम्मान गरिएको हो। 

लामो समय अगाडिदेखि स्थानीय गाउँघरमै कृषि पेसामा आबद्ध भई पालिकालाई आत्मनिर्भर बनाउन टेवा पुर्‍याउने किसान मध्येका उत्कृष्ट कृषकलाई पालिकाले सम्मान गरेको हो। 

पालिकाले नेपाल पत्रकार महासङ्घ ताप्लेजुङका पूर्व अध्यक्ष पत्रकार खगेन्द्र अधिकारीलाई समेत पुरस्कृत गरेको छ। स्थानीय तहको आठौँ स्थापना दिवसको अवसर पारेर पालिकाले पत्रकार अधिकारीलाई ३३ हजार तीन सय ३४ रुपियाँ नगदसहित पुरस्कृत गरेको छ।

सार्वजनिक सेवा प्रवाहलाई खोजमुलक, विश्लेषणात्मक र तथ्यपरक ढङ्गले प्रस्तुत गरी स्थानीय तहलाई जनमैत्री, विश्वसनीय र उत्तरदायीपूर्ण बनाउन भूमिका खेलेको भन्दै पत्रकार अधिकारीलाई पुरस्कृत गरिएको पालिका अध्यक्ष मेन्याङ्बोको भनाइ छ। 

पालिकाले सर्वोत्कृष्ट कर्मचारीतर्फ रोजगार संयोजक इक्साहा सुब्बा, उत्कृष्ट कर्मचारीतर्फ प्राविधिक सहायक अर्जुन श्रेष्ठ, सिनियर अनमी बसन्ता साँबा र पाथीभरा याङवरक वडा नम्बर ३ तिरिङ्गेका कार्यालय सहयोगी लक्ष्मीप्रसाद डाँगीलाई समान गरिएको हो। 

कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष सुब्बाले जनमैत्री सेवाप्रवाहले सरकारको प्रभावकारितामा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो।