• १९ चैत २०८१, मङ्गलबार

वीरगन्ज गोल्डकप पुलिसको पोल्टामा

blog

उपाधि विजेता पुलिसका खेलाडी । तस्बिर : गोरखापत्र

दिपकप्रसाद गौतम 

वीरगन्ज, फागुन २४ गते । वीरगन्ज गोल्डकपको उपाधि साविक विजेता नेपाल पुलिस क्लबले जितेको छ । 

वीरगन्जको आदर्शनगर रङ्गशालामा शनिबार भएको फाइनलमा पुलिसले मच्छिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ३–१ गोलले हराउँदै उपाधि रक्षा गरेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरबाट विजेताको टुङ्गो लगाईएको हो ।

मच्छिन्द्रले १२ओँ मिनेटमा संयोग ठोकरको गोलमा सुरुवाती अग्रता लिएको थियो । दोस्रो हाफमा पुलिसका विकास विकले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभएको थियो । त्यसपछि टाइब्रेकरमा पुलिस भाग्यमानी बन्यो ।

उपाधिसँगै पुलिसले ११ लाख ११ हजार एक सय ११ रुपियाँ पुरस्कार पायो । उपविजेता मच्छिन्द्रले पाँच लाख ५५ हजार पाँच सय ५५ रुपियाँ प्राप्त गरेको छ । फाइनलमा मच्छिन्द्रका संयोग ठोकर म्यान अफ दि म्याच हुनुभयो । उहाँले १० हजार रुपियाँ पुरस्कार पाउनुभयो । 

यस्तै पुलिसका अमित टमाटा उत्कृष्ट गोलरक्षक, रामचन्द्र वाजी सर्वोत्कृष्ट खेलाडी र पुलिसका चेतन घिमिरे उत्कृष्ट प्रशिक्षक बन्नुभयो । उत्कृष्ट सबैलाई जनही २० हजार रुपियाँ पुरस्कार प्रदान गरियो ।