• १९ चैत २०८१, मङ्गलबार

एक मजुदर मृत फेला

blog

सांकेतिक तस्बिर

चन्द्र पन्दाक

ताप्लेजुङ, फागुन २४ गते। ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित माथिल्लो काबेली जलविद्युत् आयोजनामा कार्यरत एक मजदुर मृत अवस्थामा भेटिएका छन्। प्रहरीका अनुसार ताप्लेजुङकै सिदिङ्वा गाउँपालिका–६ मेहेलेका ४७ वर्षीय धनप्रसाद भण्डारी शनिबार मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार सिरिजङ्घा गाउँपालिका–५ पेदाङको मुक्तुरा भिरको फेदी काबेली खोलामा भण्डारीको शव फेला परेको हो। खोलाभित्र ढुङ्गाको चेपमा अड्किएको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो।

शुक्रबार बिहान जलविद्युत् आयोजनाको काम गर्न गएका भण्डारी बेलुकासम्म नफर्किएपछि खोजी गर्न सुरु गरिएको थियो। स्थानीयले खोलाभित्र शव देखिएको भनी इलाका प्रहरी कार्यालय तेल्लोकमा खबर गरेपछि प्रहरी टोली घटना स्थलतर्फ गएको थियो। तेल्लोकका प्रहरी निरीक्षक दुर्गा खनालको नेतृत्वमा गएको टोलीले भण्डारीको शव फेला पारेको हो।

मुक्तुरा भिरबाट लडेर काबेली खोला परी भण्डारीको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ। यता घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।