• ५ जेठ २०८१, शनिबार

अभिभावकत्व पाएका बालबालिका अलपत्र

blog

मुगु समाचारदाता

मुगु, जेठ १८ गते । पूर्वप्रधानमन्त्री तथा तत्कालीन मन्त्री तथा सांसदहरूले अभिभावकत्व लिएका मुगुका गरिब परिवारका १७ बालबालिका अहिले अलपत्र भएका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायतका तत्कालीन मन्त्री तथा सांसदले मुगुका अतिविपन्न बालबालिकालाई उच्च शिक्षासम्म पढाउने उद्देश्यले रारा पर्यटन महोत्सवका अवसरमा अभिभावकत्व लिएर विभिन्न स्कुलमा भर्ना गरिदिएका बालबालिका हाल कुनै सहयोग नपाएर अलपत्र परेका हुन् ।

२०७५ साल वैशाख १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र उहाँकी धर्मपत्नी अभिभावक भई बुद्ध माध्यमिक विद्यालय माङ्ग्रीमा दुई जनालाई भर्ना गर्नुभएको थियो । सांसद तथा नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्मा अभिभावक भई जनकल्याण आधारभूत विद्यालयमा एक जना, तत्कालीन पर्यटनमन्त्री स्वर्गीय रवीन्द्र अधिकारी अभिभावक भई दुधे आधारभूत विद्यालयमा एक जना, तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेलद्वारा नेरा माध्यमिक विद्यालय मुर्ममा एक जना, कर्णाली प्रदेशका निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एक जना, मुगुका सङ्घीय सांसद गोपाल बमलगायतका विशिष्ट व्यक्तिहरूबाट अभिभावकत्व लिएर विभिन्न विद्यालयमा बालबालिकालाई कक्षा १ मा भर्ना गरिएको थियो । 

बुद्ध माध्यमिक विद्यालय माङ्ग्री, जनकल्याण आधारभूत विद्यालय मह, नेरा माध्यमिक विद्यालय मुर्मा, दुधे आधारभूत विद्यालय कोटिलालाई जिल्ला शिक्षा समन्वय एकाइ मुगुले पत्राचार गरी गरिब विद्यार्थी छनोट गरेर रारा पर्यटन वर्ष २०७५ मा पठाउन आग्रह गरेको थियो । सोहीअनुसार वैशाख १ गते तत्कालीन प्रधानमन्त्री तथा विभिन्न मन्त्रीले कक्षा १ देखि उच्च शिक्षासम्म सबै खर्च बेहोर्ने गरी अभिभावकत्व लिए पनि हालसम्म कुनै पनि सहयोग नपाएको अभिभावक खड्कबहादुर कुलालले बताउनुभयो । 

लामो समय भइसक्दा पनि ती विद्यार्थीको अभिभावकत्व लिनेहरूले सोधीखोजीसमेत नगरेको गुनासो उहाँले गर्नुभयो । तत्कालीन प्रधानमन्त्री ओलीले अभिभावकत्व लिएर भर्ना गरिएका दुई विद्यार्थीलाई मुगुको कार्मारोङ गाउँपालिकाको बुद्ध माध्यमिक विद्यालयमा बेलाबखत पढाइ खर्च, लत्ताकपडा र औषधि खर्च बेहोर्ने भनिए पनि अहिलेसम्म कुनै पनि खर्च नआएको विद्यालयका प्रधानाध्यापक लग्नसिंह सेजुवालले जानकारी दिनुभयो ।

उहाँका अनुसार ठिल्या साङ्मु लामा कक्षा ६ मा पढ्दै हुनुहुन्छ भने अर्का छिरिङ छेङ्फोङ लामा कक्षा पाँचमा पढ्दै हुनुहुन्छ । तत्कालीन पर्यटनमन्त्री अधिकारीले अभिभावकत्व लिनुभएका बालक पूर्णबहादुर कुलाल विद्यालय आउन छोड्नुभएको छ ।