पण्डित गोविन्द झाले लेख्नुभएको मैथिली भाषाको ‘वसात’ नाटकमा मैले ‘नङ्गरु काका’ को भूमिकामा २०३० सालतिर अभिनय गरेको थिएँ । त्यसपछि मेरो वास्तविक नामभन्दा ‘नङ्गरु काका’ का रूपमा समाजमा चिनिएँ । ‘नङ्गरु काका’ को परिचय ‘वसात’ नाटकबाट बनेकोमा आज पनि गर्व गर्छु । मैथिली साहित्यका सेक्सपियर उपनाम पाउनुभएका महेन्द्र मलङ्गिया लिखित
‘लक्ष्मणरेखा’ खण्डित नाटक का लागि एक महिनाभन्दा बढी समय पूर्वाभ्यास गरिएको थियो । अन्तिम समयमा नाटक प्रदर्शन हुन नसक्दा नमज्जा मात्र नभई दुःखित बनाएको थियो । उपेन्द्र भगत नागवंशीको नेतृत्वमा रहेको आकृति संस्थाले प्रदर्शन गर्ने भनिएको यस नाटकको पूर्वाभ्यासका लागि महोत्तरीको सुगागाउँबाट १८ किलोमिटरसम्मको यात्रा म र मेरी पत्नी सधैँ गथ्र्याैं । नाटक मञ्चन भएको भए पहिलो महिला रङ्गकर्मीको उपाधि मेरी पत्नीको नाममा हुने निश्चित थियो ।
विगतमा मनोरञ्जनका साधनहरू कम थिए । पर्व, त्योहार, मेलाहरूमा विभिन्न मनोरञ्जनात्मक कार्यव्रmम हुने गथ्र्याे; जसमा हेर्नेको भिड लाग्थ्यो । यस क्षेत्रमा मैथिली वा हिन्दी नाटक मञ्चन हुँदासमेत हेर्नेको भिड हुन्थ्यो । महिनौँको पूर्वाभ्यासपछि नाटक प्रदर्शन हुने भएकाले अत्यधिक चर्चा भएका कारण जिज्ञासु दर्शकको भिड हुन्थ्यो । विसं २०६० को दशकसम्म नाटकका पारखीहरू अत्यधिक भेटिन्थे । नटराज मिथिला कला केन्द्रका संस्थापकमध्येको म पनि एक छु । कलाकारहरू अनुशासनमा बाँधिएका हुन्थे, अग्रजको कुरा ध्यानले सुन्ने र मनन गर्ने परम्परा थियो । निर्देशकलाई गुरुदेव सरहको व्यवहार गरिन्थ्यो । कलाकारहरू सिक्ने चाहना बोकेर आउँथे । नाटकमा नाटकीय नभई स्वाभाविक संवाद प्रस्तुत गरिन्थ्यो । यसले उनीहरूको प्रदर्शनलाई जीवन्त बनाउँथ्यो र कलाकारहरू दर्शकको नजरमा पर्न सफल हुन्थे । दर्शकले पछिसम्म त्यस्ता पात्रको अभिनय सम्झन्थे । जनकपुरमा मिथिला नाट्यकला परिषद् (मिनाप), रामानन्द युवा क्लब, रङ्गदर्पण, जनकपुरको देवीचोकमा रहेको चित्रगुप्त सेवा समिति, आकृति, परवाहामा रहेको युवा नाट्यकला परिषद्लगायतका संस्थाले मैथिली नाटक मञ्चन गर्थे ।
पहिला पहिला नाटकमा महिला पात्रको भूमिका पुरुषले गर्नु पथ्र्याे । नाटकमा महिलाको प्रवेश २०५० सालको दशकमा मात्र सम्भव भएको हो । यस क्षेत्रको सुगालगायतका ठाउँमा हुने नाटकहरूमा मैले अभिनय गरेको छु । मेरो पहिचान मैथिली भाषाको नाटकबाट भए पनि धेरै पटक हिन्दी भाषाको नाटकमा अभिनय गरेको छु । अहिले नाटक मञ्चनमा कमी आएको छ । सुविधामा सम्पन्न भए पनि परम्परागत रङ्गमञ्चमा हुने नाटकले तानिने दर्शक आधुनिक स्टेजमा मञ्चन हुने नाटकसम्म पुग्न सकेका छैनन् । दर्शकसम्म पुग्नुपर्ने संवाद र कलाकारको अभिनयमा कमी भएर पनि दर्शकको कमी भएको हुन सक्ने सम्भावनालाई अहिलेका आयोजक र प्रायोजकले बुझ्न नसकेको अनुभव गर्दै छु ।
लोकनाच तथा आधुनिक गीतसङ्गीतमा सांस्कृतिक कार्यव्रmम गर्नेहरू व्यावसायिक भइसकेका छन् । तथापि मैथिली नाटक गर्नेहरू समाजिक सेवाको एउटा अङ्गकै रूपमा छन् । यी संस्थाहरू दाताको आशामा बसिरहेको आरोप लाग्छ । मैथिली लोकनाच, पार्टी तथा सांस्कृतिक कार्यव्रmमको व्यवसायीकरण भए जस्तै मैथिली आधुनिक नाटकको व्यावसायिक अभ्यासमा जानु पर्छ । कलाकारलाई जनजीविकाका रूपमा अथवा जीवन धान्ने पेसाका रूपमा नाट्य क्षेत्रलाई विकास नगरेसम्म उत्कृष्ट नाटक प्रदर्शन नहुने देखिन्छ । कलाकारभन्दा बढी जिम्मेवार निर्देशक हुन्छन् । मधेशमा उम्दा निर्देशकको पनि कमी छ । अहिले हरेक कलाकार आपूm बढी जान्ने छु भन्छन् । कलाकारहरू निर्देशक नै बन्न खोज्छन् अनि कसरी व्यावसायिक उम्दा नाटक प्रदर्शन हुन्छ ?