भगवान्ले अवतार लिनुअघि धेरै चोटि सोच्नुपर्ने देश, नेपाल । तर, हाम्रा प्रिय नारदमुनि यस पटक सोधपुछबिना यहाँ अवतरित भए । उनलाई नेपाल भन्ने विचित्र देशको एउटा रिपोर्ट बनाएर भगवान् विष्णुसामु पेस गर्ने खुलदुली जाग्यो अकस्मातै । आफ्नो वीणा टिङ्ग टिङ्ग गर्दै मनमा अनेकौँ सोच लिएर मुनिजी रिपोर्ट तयार पार्न लाग्ने सामग्री जुटाउने हेतुले नेपाल भ्रमण अभियानमा होमिए ।
स्वर्गबाट उनी सिधै काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झरे । हातमा वीणा, कम्मरमा सादा धोती, निधारमा चन्दन अनि बारम्बार ‘नारायण नारायण’ को उच्चारण । मुनिजीको रूप बयान गर्न लायकको थियो । लगेजको झन्झट नहोस् भनेर वीणा मात्र साथमा राखेका मुनिजीलाई इमिग्रेसनका हाकिम भनाउँदाहरूले रोकेर सोधपुछ गर्न थाले । मुनिजी हैरान !
सोधियो उनलाई, “यो बजाउने बाजा हो या सुन बोक्ने भाँडो मुनिजी ?” उनले सफाइमा केही भन्न खोजेका थिए, अझ ठुलो भनाउँदा हाकिमले ठुलै स्वरमा प्रश्न गरे मुनिजीलाई, “स्वर्गबाट आएको होस् या नरकबाट हामीले नियम त पालन गर्नै प¥यो त्यसैले त्यो वीणा त चेक गर्नै पर्छ । भन्नूस् मुनिजी के छ त्यो बाजा भित्र ?” नारदजीले मुस्कुराउँदै भने, “यो त सृष्टिको सङ्गीत सिर्जना गर्ने वीणा हो भाइ, तिम्रो नेताहरूले जस्तो सुन बोक्ने सुट्केस होइन ।”
हाकिमसाहेबले सुन नभेटेपछि अर्को बहाना भेट्टाए मुनिजीलाई हैरान पार्ने । भिजिट भिसा नभएको भन्दै उनलाई घण्टौँ अलपत्र पारे । अन्त्यमा केही नलागे पछि, “तपाईं त भगवान्का दूत हुनुहुँदो रहेछ, ल यस पटकलाई हामी तपाईंलाई नेपाल छिर्न दिन्छौँ । अर्को पटकचाहिँ याद गर्नुहोला” भन्दै मुनिजीलाई नेपाल प्रवेश दिइयो तर हाकिमले भिसा शुल्कचाहिँ तिराइछाडे । मुनिजी फेरि हैरान ! उनले चुपचाप मुस्कुराउँदै भने, “तिमीहरूको यो ब्युरोव्रmेसी बुझ्न स्वर्गभन्दा पनि कठिन छ भाइ ।”
एयरपोर्टबाट बाहिर आए मुनिजी । उनलाई पहिले राजधानी सहर नै घुम्न मन लाग्यो । हुन पनि राजधानीको रिपोर्ट नै सबैभन्दा महìवपूर्ण हुन्छ भन्ने लाग्यो उनलाई । विष्णुसामु पेस गर्ने रिपोर्टमा राजधानीको नालीबेली राम्ररी प्रस्तुत गर्नु पर्छ भन्ने सोच्दै काठमाडौँ घुम्नलाई एउटा ट्याक्सी भाडामा लिने विचार गरे मुनिजीले ।
नारदमुनिले ट्याक्सी लिए । ड्राइभरले उनलाई “ए नारदमुनि ब्रो, कहाँ जाने ?” भनेर सोध्यो । मुनिजीले अचम्म मान्दै भने, “मुनि मात्र भने हुन्छ, ‘ब्रो’ भन्नु पर्दैन ।” ट्याक्सी भाडा भने तीन सय रुपियाँको ठाउँमा एक हजार पाँच सय रुपियाँ लाग्यो । नारदमुनिले ट्याक्सीको मिटर किन यति धेरै बिग्रिएको हो भनी सोध्दा, ड्राइभरले भन्यो, “नेपालमा भाडा र विश्वास दुवै आफूले नै बनाउनु पर्छ ब्रो ।”
मुनिजीलाई लिएर ट्याक्सी हुँइकियो । काठमाडौँको जाममा नारदमुनि अड्किए । ३० मिनेटको दुरी दुई घण्टामा पार गर्नुपर्दा उनलाई ‘कलियुगका चमत्कार’ देख्न पाइयो भन्ने लाग्यो । वीणाको तार समाउँदै उनले गाए ः
कालो धुवाँ बिच हेर काठमाडौँ सहर
धुलोमैलो अस्तव्यस्त काठमाडौँ सहर
पतपत मुस्लो फ्याँक्दै गुड्छ थोत्रो ट्याक्टर
राजधानी भयो आज दूषित सहर !!
दिसापिसाब गर्ने ठाउँ बागमती किनार
खोलानाला सबै भयो दुर्गन्धित नहर
फोहोरको थुप्रो लाग्छ आठै प्रहर
विरोध जति गरे पनि छैन असर !!
महँगिँदै गयो हेर काठमाडौँ बजार
पीडा, व्यथा कसले बुझ्ने, भयौ लाचार
नेताहरू मग्न बुन्दै दिनहुँ भ्रष्टाचार
बनाऊँ यिनलाई थुन्न अब बलियो कारागार !!
काठमाडौँको अस्तव्यस्त ताललाई केही सुधार गर्न सकिन्छ कि भन्ने सोचसहित मुनिजीले ट्याक्सीलाई बालुवाटारतिर मोडे । मन्त्रीजीसँग भलाकुसारी गरेर केही समाधान निकाल्ने उनको तीव्र अभिलाषा बन्न पुग्यो अकस्मातै । प्रधानमन्त्रीलाई भेट्न खोज्दा गेटमा सुरक्षाकर्मीले रोके । “तपाईंसँग अपोइन्टमेन्ट छ ?” सोधियो । मुनिले भने, “म विष्णुको सन्देश लिएर आएको छु । काठमाडौँ सहरको बिचल्ली पनि हेर्न सकिन, केही सल्लाह दिनुछ मन्त्रीलाई । सल्लाह मानेदेखि यो सहर पनि हाम्रो स्वर्ग जस्तै बन्ने छ ।” गेटका सुरक्षाकर्मीले उल्टै भने, “हामीलाई यहाँ राजनीतिक सन्देश चाहिएको छ, धार्मिक होइन । हाम्रो सहरको बारेमा मन्त्रीजी भलिभाँती परिचित छन् । तपाईं जस्तो जोगी मान्छेको सल्लाह चाहिँदैन । यहाँ बसेर आफ्नो समय खेर नफाल्नूस्, फर्किनूस् तपाईं आफ्नै विष्णु भएको ठाउँमा ।” प्रधानमन्त्रीलाई भेट्न नपाउँदा मुनिजीले बालुवाटारअगाडि नै धर्ना बस्ने विचार नगरेका हैनन् तर “यस धर्तीमा भक्ति कम, चाकडी धेरै,” भन्ने सोची त्यो विचारलाई
त्यहीँ त्यागिदिए ।
ट्याक्सी मुनिजीलाई लिएर नारायणहिटी दरबार सङ्ग्रहालय पुग्यो । त्यहाँको रौनक अनि पुरानो राजतन्त्रको ऐश्वर्य देखेर चकित भए नारदमुनि । “यो त हाम्रो स्वर्गको सिंहासन जस्तो लाग्यो तर अहिले सुनिन्छ, राजा छैनन् रे ?”, उनले सोध्दा, गाइडले भन्यो, “नेपालमा लोकतन्त्र आएको छ ।“ नारदमुनिले गाइडलाई पुनः सोधे, “लोकतन्त्र भनेको ‘प्रजा’ हराएर ‘लोक’ मात्र बाँकी रहने सिस्टम हो ?” गाइड बोलेन, मिश्रित नजरले मुनिजीलाई हेरी मात्र रह्यो ।
ट्याक्सी ड्राइभरले मुनिजीलाई देशको संस्कृति, परम्परा अनि यहाँको जात्रा देखाउने विचार ग¥यो । “नारद ब्रो, म अब तपाईंलाई हाम्रो जात्रा देखाउँछु । यहाँको संस्कृति पनि तपार्इंको रिपोर्टमा बयान गर्नुहोला । हिँड्नूस् हामी भक्तपुर जाऊँ ।” ट्याक्सी भक्तपुरतिर मोडियो । नारदमुनि भक्तपुर पुग्दा माघेसङ्व्रmान्ति चल्दै थियो । सडकछेउका प्रत्येक पसलमा चिउरा, मासु, र जाँडको गन्धले पूरै माहोल जात्रामय थियो । “यो देशका मानिस स्वर्ग जान नमान्ने कारण यस्तो पो रहेछ । स्वर्ग नै यहाँ झारेर बसेका रहेछन्,” मनमनै सोच्दै मुनिजी अगाडि बढ्न थाले । जाँड खाएका एक जना स्थानीयले नारदमुनिलाई जबरजस्ती जाँडको गिलास दिए र भने, “पिउनूस्, मुनि । यो हाम्रो परम्परा हो ।” जाँडको गिलास हातमा लिएका मुनिको अनुहार हेर्नलायकको थियो त्यतिखेर ।
नसामा झुमेका मुनिजीलाई अब भने रमाइलो गर्न मन लाग्यो र भने ट्याक्सी ड्राइभरलाई, “हे भाइ, यसो रमाइलो गर्ने ठाउँतिर लगन । कति यो सहर मात्र चहारेर बस्नु ।” ट्याक्सी ड्राइभरले “हुन्छ मुनि ब्रो” भन्दै उनलाई पोखरातिर हुँइक्यायो ।
पोखरा पुगेपछि नारदमुनिले फेवातालको डुङ्गा चढे । “हे भगवान्, यत्रो पानीमा मानिसहरू स्नान गर्दैनन् । केवल सेल्फी खिच्छन् !” उनी मनमनै हाँस्न थाले । वीणाको धुनमा ‘नारायण नारायण’ गर्दै एउटा मान्छेलाई, “के यहाँ सबैका भगवान् क्यामरा हुन् ?” भन्दै सोध्न थाले मुनिजी । तालवाराही मन्दिरको प्राङ्गणमा उभिएको उक्त भगवान् भक्तले नारदमुनिलाई चिनेको जस्तो ग¥यो । त्यसपछि फेवातालको सेल्फीबाजहरू सबै मुनिसँग सेल्फी खिच्ने भन्दै उनको अघिपछि गर्न थाले । मुनिजी हैरान । कसरी भागुँ भन्ने भयो उनलाई । “मुनि ब्रोलाई किन टेन्सन दिएको ?” भन्दै ट्याक्सी ड्राइभर आइपुग्यो त्यति नै बेला । उनीहरू दुवै त्यसपछि अगाडि झलमल्ल देखिएको हिमाल चढ्न जाने भन्दै हिँडे त्यतैतिर ।
नारदमुनिले मनमनै सोचे, “जन्म जन्मान्तरसम्म हिमालयको महिमा गाएको थिएँ । अब आफैँ चढेर हेर्नुप¥यो ।” उनले एक पर्यटक गाइडसँग कुरा गरे । गाइडले भन्यो, “हिमाल चढ्न लाइसेन्स चाहिन्छ । शुल्क तिर्नु पर्छ ।” नारदमुनिले भने, “मैले त स्वर्गमा हिमालय चढ्न शुल्क कहिल्यै तिर्नुपरेन ।” गाइडले उत्तर दियो, “त्यहाँ नियम कानुन छैनन् होला त्यसैले, यहाँ सबै कुरा फरक छ । हिमाल चढ्न त्यतिकै कहाँ पाइन्छ मुनिवर !” नारद हेरेको हे¥यै भए । “ब्रो भैगो यहाँबाट फर्किउँ,” भन्दै ट्याक्सी ड्राइभर आइपुग्यो ।
‘नारायण नारायण’ भन्दै फर्किए नारद आफ्नै विष्णु भगवान्सामु । उनको रिपोर्ट तयार भइसकेको थियो । सुनाउन थाले विष्णुलाई, “हे भगवान्, तपाईंले सृष्टिको सबैभन्दा जटिल देश बनाउनुभयो । यहाँ धर्म छ तर मानिसको मन अराजक छ । यहाँ हिमाल छ तर भ्रष्टाचारको पहाडले थिचेको छ । भक्तिभाव छ तर मोबाइलमा मात्र । नेपालको झन्डा संसारमा दुइटा त्रिकोणमा मात्र छ तर समस्या तीन त्रिभुजमा गाँजिएको छ । तर, हजुर, मानिसको हास्य रस अनि जीवनप्रतिको लगाव अद्वितीय छ ।”
विष्णु भगवान् मुस्कुराएर भने, “यो देश त मेरो प्रिय हो । किनकि यहाँ तिमी जस्तो कुराले नथाक्ने नारद पनि अचम्म पर्छौ ।” नारदमुनि ‘नारायण नारायण’ जप्न थाले । विष्णु ध्यानमा लिन भए ।