वराहक्षेत्र समातारदाता
वराहक्षेत्र, फागुन २४ गते । वराहक्षेत्र नगरपालिका क्षेत्रभित्र बस्ने दलित समुदायका महिलालाई नौमती, पन्चैबाजा बजाउने सिप सिकाइएको छ । पछिल्लो समय नौमती, पन्चैबाजा गाउँघरबाट लोप हुँदै गएपछि बाजाको संरक्षण गर्न नेपाल संयुक्त दलित समाज वराहक्षेत्र–६ ले वराहक्षेत्र नगरपालिकाको आर्थिक सहयोगमा नौमती, पन्चैबाजा बजाउन महिलालाई तालिम दिँदै आएको छ ।
नेपाल संयुक्त दलित समाजले तीन वर्षदेखि नौमती, पन्चैबाजा संरक्षण गर्न महिलालाई तालिम दिँदै आएको समाजकी अध्यक्ष रमा परियारले बताउनुभयो । उहाँले भन्नुभयो, “पुरुषले मात्रै बजाउँदै आएको नौमती, पन्चैबाजा सिप सिकेपछि महिलाले बजाउन सक्छन् भनेरै थालेको हो । अहिलेसम्म ३६ जनाभन्दा बढी महिलाले यस्ता बाजा बजाउने तालिम लिइसकेका छन् ।”
नेपाली संस्कृतिमा विवाह, व्रतबन्ध, देवाली, यज्ञलगायतका शुभकार्यको साइतमा बाजा बजाएर साइत गरिने परम्परा छ तर यस्ता बाजा गाउँबाट विस्थापित हँुदै गइरहेका बेला महिलाले ग्रामीण क्षेत्रबाटै बाजा संरक्षणको प्रयास थालेका छन् ।
गाउँघरमा बाजा बजाउने मानिस पाउन छाडेपछि महिलालाई नै बाजा बजाउन सिकाएर त्यसको संरक्षणमा जुटेको वराहक्षेत्र नगरपालिकाले जनाएको छ ।
बाजा बजाउन सिकेका महिलाको आयआर्जनमा समेत टेवा पुगेको नेपाल संयुक्त दलित समाजले जनाएको छ । समाजकी अध्यक्ष परियारले महिलाले वराहक्षेत्र नगरभरिको विवाहमा जाँदा २२ देखि २५ हजार रुपियाँसम्म नगरभन्दा टाढासम्म जान परेमा २५ देखि ३५ हजार रुपियाँसम्म लिने गरेको बताउनुभयो । नौमती बाजा बजाउन सिकाउँदै आउनुभएका प्रकाशपुरका तुलसी परियारले भन्नुभयो, “६० काटेकाले सहनाई फुक्न थाल्नुभएको छ । जीवनमै नसमाएको बाजा बजाउँदा सुरुमा कतिलाई अफ्ट्यारो भए पनि अहिले सहज हुन थालेको छ ।” संयुक्त दलित समाजले दिएको पैतालिस दिनको बाजा बजाउने तालिममा १८ जना महिलासहित तीन जना पुरुषको सहभागिता रहेको थियो ।