जनार्जन खत्री
सर्लाही, फागुन २३ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तराई–मधेश जागरण अभियानले जनतामा नयाँ आशाको सञ्चार जागेको बताउनुभएको छ ।
सर्लाहीको मलङ्गवामा शुक्रबार ‘हुलाकी मार्ग केन्द्रीत जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ कार्यक्रममा बोल्दै उहाँले झापादेखि सर्लाहीसम्म आइपुग्दा वुद्धिजिवी, किसान, मजदुर, मधेशी, दलित, आदिवासीलगायत सम्पूर्ण जनतामा नयाँ आशाको सञ्चार छाएको महसुस गरेको बताउनुुभएको हो । प्रचण्डले अहिलेको बेथितीको अन्त्यका लागि सबै तह र तप्काका जनता आन्दोलित हुनुपर्ने देखिएको उल्लेख गर्नुभयो ।
उहाँले माओवादी केन्द्रले अभियान सुरु गरेपछि सम्पूर्ण राज्यकै ध्यान मधेशतिरै केन्द्रीत भएको उहाँको दाबी छ । माओवादीले तराई–मधेश केन्द्रीत अभियान थालेपछि प्रधानमन्त्री र अन्य ठुला पार्टीका सबै नेता मधेश झरेका प्रचण्डको भनाइ छ ।
बिहीबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओली महोत्तरीमा तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापालगायतका शिर्ष नेता महोत्तरी र रौतहट आइपुग्नु भएको थियो । हुलाकी मार्ग केन्द्रीत अभियान चलाएर माओवादीले पूरै मधेश नै प्रभावमा पारिसक्यो भन्ने चिन्ता अन्य दललाई पर्न थालेको प्रचण्डको भनाइ छ ।
मधेशको सबैभन्दा दक्षिणी भागमा रहेका गरिब, दलित, मजदुर, किसानमाथि राज्यले विभेद गरेका कुरा उजागर गर्ने, यहाँको आर्थिक, पर्यटन र कृषिको विकास गर्ने तथा सीमा क्षेत्रको अवस्था अध्ययन गरेर राष्ट्रियरुपमा स्थापित गर्ने उद्देश्यले हुलाकी मार्ग केन्द्रीत अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
पूर्व प्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले रोकिएर रहेको पूर्व–पश्चिम हुलाकी सडक आफू प्रधानमन्त्री हुदाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गरेर निर्माणको काम अघि बढाएको दाबी गर्नुभयो
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शुक्रबार सर्लाहीको एक दर्जन बढी स्थानमा पार्टीका नेता, कार्यकर्तालाई सम्बाेधन गर्दै हुनुहुन्छ । उहाँले सदरमुकाम मलङ्गवामा आयोजित आमसभामा सर्लाही क्षेत्र नं. १ का निवर्तमान प्रतिनिधि सभा सदस्य एवं भर्खरै जनता समाजवादी पार्टी (जसपा) नेपाल परित्याग गरेका प्रमोद साहलगायतलाई माओवादी केन्द्रमा प्रवेश गराउने कार्यक्रम रहेको छ ।
माओवादीको तराई–मधेश केन्द्रीत अभियानअन्तर्गत सर्लाहीको कार्यक्रम सकेर शुक्रबार साँझ अध्यक्ष प्रचण्डसहित पार्टीका शिर्षस्त नेताहरू रौतहट प्रस्थान गर्ने जिल्ला इन्चार्ज अच्यूतम काफ्लेले जानकारी दिनुभयो ।