काठमाडौँ , फागुन २३ गते । तेस्रो कर्णाली चलचित्र कार्यशाला चैत ४ देखि ९ गतेसम्म कर्णालीको सुर्खेतमा आयोजना गरिने भएको छ । केबी इन्टरटेनमेन्ट प्रालिले कर्णालीमा तेस्रो पटक कार्यशाला आयोजना गर्न लागेको हो । पहिलो र दोस्रो कार्यशालामा चलचित्रसम्बन्धी सामान्य ज्ञान लिएका विद्यार्थी र नयाँ विद्यार्थीलाई यस पटक चलचित्रबारे ‘एडभान्स’ कोर्षको प्रशिक्षण दिइने छ । आयोजक संस्थाका अध्यक्ष भूपेन्द्रकुमार खड्काका अनुसार कार्यशाला प्रयोगात्मक विशेष हुने छ ।
‘कर्णाली विकट भए पनि प्राकृतिक र भौगोलिक रूपमा निकै सुन्दर छ । सांस्कृतिक विविधताले भरिएको कर्णालीको कथा स्थानीय चलचित्रकर्मीमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउनकै लागि कार्यशाला आयोजना गरेको अध्यक्ष खड्काले बताउनुभयो ।
कार्यशालामा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र पूर्वअध्यक्ष निर्देशक दयाराम दाहालको विशेष कक्षा हुने छ ।