• २० चैत २०८१, बुधबार

विराटनगरसँग जोडियो गौरीगन्ज

blog

विराटनगरबाट–रङ्गेली हुँदै झापा जान बस चढेका यात्रुहरू । तस्बिर : हरिप्रसाद कोइराला

उर्लाबारी समाचारदाता

उर्लाबारी, फागुन २३ गते । विराटनगरबाट–रङ्गेली हुँदै झापाको भद्रपुर जोड्ने हुलाकी राजमार्ग अन्तर्गत रतुवा खोलामा पुल बनेपछि ४६ किलोमिटर सडक छोट्टिएको छ । 

यसअघि झापाको गौरीगन्जबाट मोरङको आम्बारी बजार आउन दमक हुँदै उर्लाबारी आएर दक्षिण लाग्नु पथ्र्यो । रतुवामा पुल निर्माण भएपछि उक्त बाटो सात किलोमिटर यात्रा तय गरेपछि पार गर्न सकिन्छ । मोरङको आम्बारीबाट महादेवा हुँदै झापाको खजुरगाछी–गौरीगन्ज पुग्न विराटनगर हाटखोलाबाट बस छुट्न थालेका छन् । रङ्गेली, डाइनिया आम्बारी हुँदै झापाको गौरीगन्जसम्मका लागि सार्वजनिक यातायात सञ्चालनमा आएपछि दक्षिणी मोरङका ग्रामीण बजारसँग झापाका बजारको सिधा सम्पर्क स्थापित भएको छ ।  

विराटनगरदेखि गौरीगन्जसम्म दैनिकी ३०/३० मिनेटमा १५ वटा सार्वजनिक बस  नियमित रूपमा सञ्चालन हुन थालेको रङ्गेलीका गोपाल मण्डलले बताउनुभयो । मण्डलका अनुसार मानिससँगै गाई वस्तु व्यापारीलाई सहज भएको छ । उहाँले भन्नुभयो, “कृषिजन्य उत्पादन बिक्रीका लागि मात्र होइन । निर्माण सामग्री विराटनगरबाट गौरीगन्ज पुर्‍याउनसमेत सहज भएको छ ।  रतुवामा पुल नबन्दा विराटनगरका उद्योगले निर्माण सामग्री इटहरी, दमक हुँदै गौरादहबाट गौरीगन्ज पुर्‍याउने गर्थे ।” 

विगतमा इटहरी हुँदै दमक–गौरादहको बाटो जाँदा ९५ मिलोमिटर दुरी पार गर्नु पथ्र्यो । अब ४९ किलोमिटरमा विराटनगरबाट गौरीगन्ज पुग्न सकिन्छ ।  रङ्गेली–गौरीगन्ज सडकका बस कर्मचारी भुवन रायका अनुसार विराटनगरबाट पहिलो बस बिहान साढे ६ बजे छुट्ने र अन्तिम बस बेलुकी ५ बजे छुट्ने र गौरीगन्जबाट  विराटनगरका लागि बिहान ५ बजेर ५० मिनेटमा छुट्ने र अन्तिम बस बेलुकी ५ बजेर १५ मिनेटमा छुट्ने रायले बताउनुभयो ।