• १९ चैत २०८१, मङ्गलबार

सुरक्षित गर्भपतन गर्नेको सङ्ख्या वृद्धि

blog

जनकपुरधाम समाचारदाता 

जनकपुरधाम, फागुन २३ गते ।  मधेश प्रदेशमा पछिल्लो तीन वर्षयता सुरक्षित गर्भपतन गराउने सङ्ख्या निरन्तर रूपमा वृद्धि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय मधेश प्रदेशको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/७९ देखि २०८०/८१ सम्म गर्भपतन गराउने महिलाको सङ्ख्या हरेक वर्ष बढ्दै गएको छ ।

आव २०७८/७९ मा सात हजार ५१३ महिलाले गर्भपतन गराएका थिए भने आव २०७९/८० मा यो सङ्ख्या बढेर आठ हजार २०३ पुगेको थियो । त्यसै गरी २०८०/८१ मा आठ हजार ५८१ महिलाले सुरक्षित गर्भपतन गराएका छन् । प्रदेशका आठ जिल्लामध्ये सबैभन्दा बढी सुरक्षित गर्भपतन गराउने जिल्ला सर्लाही रहेको छ । यहाँ पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा आव २०७८/७९ मा एक हजार ९९६, आव २०७९/८० मा दुई हजार १३१ र आव २०८०/८१ मा दुई हजार ३४८ महिलाले गर्भपतन गराएका छन् ।

त्यसै गरी सुरक्षित रूपमा गर्भपतन गराउनेमा सिराहा दोस्रो स्थानमा रहेको छ । सिराहामा आव २०७८/७९ मा एक हजार ९९५, आव २०७९/८० मा दुई हजार १४ र आव २०८०/८१ मा एक हजार ८९२ महिलाले सुरक्षित रूपमा गर्भपतन गराएका छन् । तेस्रो स्थानमा रहेको पर्सामा आव २०७८/७९ मा एक हजार ४५५, २०७९/८० मा एक हजार ४९८ र २०८०/८१ मा एक हजार ५७१ गर्भपतन गरिएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।

यस अवधिमा महोत्तरीमा भने गर्भपतन गराउने महिलाको सङ्ख्या तुलनात्मक रूपमा निकै कम देखिएको छ । महोत्तरीमा आव २०७८/७९ मा १३१, आव २०७९/८० मा १४७ र आवमा २०८०/८१ मा २७६ महिलाले गर्भपतन गराएका  निर्देशनालयका नर्सिङ प्रशासक सुनीता गुप्ताले बताउनुभयो । 

चालु आवको पुस मसान्तसम्मको तथ्याङ्क हेर्दा पनि सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको देखिन्छ । यस अवधिमा मधेश प्रदेशमा चार हजार २२० महिलाले गर्भपतन गराएका छन् । यसमध्ये सर्लाहीमा एक हजार १९७, सिराहामा ९४१, पर्सामा ६५८, सप्तरीमा ४६६, धनुषामा ३६०, रौतहटमा ३२५, बारामा १४७ र महोत्तरीमा १२६ जना महिलाले गर्भपतन गराएका छन् ।