• ८ वैशाख २०८२, सोमबार

विद्यार्थीको दुर्घटना बिमा

blog

मध्यविन्दु समाचारदाता

मध्यविन्दु, फागुन २३ गते । नवलपरासीपूर्व (नवलपुर) को कावासोती–३ निवासी शैक्षिक एवं सामाजिक व्यक्तित्व भोजराज दाहालले व्यक्तिगत लगानीमा यहाँका चार हजार २०४ जना विद्यार्थीको दुर्घटना बिमा गरिदिनुभएको छ । कावासोती नगरपालिकामा रहेका १० वटा सामुदायिक विद्यालय र मध्यविन्दु नगरपालिकामा रहेको अरविन्द आश्रमसहित ११ वटा विद्यालयमा दुर्घटना बिमा गरिदिनुभएको हो । कावासोतीमा रहेको सिद्धार्थ आवासीय माविका संस्थापक प्रिन्सिपलसमेत रहनुभएका दाहालले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीको दुर्घटना बिमा गर्ने कार्य गरेको बताउनुभयो । 

यहाँका सामुदायिक विद्यालयमा अध्ययनरत  विद्यार्र्थीको एक लाख रुपियाँसम्मको उपचार खर्च प्राप्त गर्न सक्ने गरी दुर्घटना बिमा गरेको दाहालले जानकारी दिनुभयो । विभिन्न विद्यालयका चार हजार २०४ जना विद्यार्थीको दुर्घटना बिमा भएको छ । दाहालले सकेसम्म कोही पनि दुर्घटनामा पर्नु नपरोस् र परिहालेमा पनि उपचारमा केही सहजता होस् भनी विद्यार्थीका लागि दुर्घटना बिमा गरी सामाजिक कार्यमा जोडिएको बताउनुभयो । विद्यालयमा दुर्घटना बिमा कार्यक्रम लागु भएपछि दुई जना विद्यार्थीको बिमा रकमबाट उपचार खर्चमा सहयोग पुगेको जनविकास विद्याश्रमका प्रधानाध्यापक प्रेम न्यौपानेले बताउनुभयो । खेल्ने क्रममा दुर्घटनामा परेका कावासोती–३ मा रहेको जीवनज्योति माविको कक्षा १२ मा अध्ययनरत छात्र कोषराज गुरौ पनि उक्त दुर्घटना बिमाबाट लाभान्वित हुनुभएको छ । उहाँले बिमाबापत एक लाख रुपियाँ प्राप्त गर्नुभएको छ ।

केही दिनअघि मात्रै दाहालले विद्यालयको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा एक लाख रुपियाँ बराबरको चेक गुरौलाई हस्तान्तरण गर्नुभएको थियो । उहाँले विभिन्न विद्यालयमा गरिब तथा जेहेनदार छात्रछात्राको अध्ययन अध्यापनमा सहयोग गर्ने उद्देश्यले आफ्ना स्वर्गीय पिता देवीलाल दाहाल र माता रमादेवी दाहालको स्मृतिमा अहिलेसम्म ३१ वटा विद्यालयमा एक लाखदेखि एक लाख ५० हजार रुपियाँ बराबरको र कावासोती नगरपालिका अन्तर्गत रहेका सबै सामुदायिक क्याम्पसमा एक लाख ५० हजारका रुपियाँ दरले अक्षय कोषसमेत स्थापना गर्नुभएको छ ।