• ७ वैशाख २०८२, आइतबार

सूर्यविनायक–धुलिखेल सडक विस्तारमा ढिलाइ

blog

बनेपा क्षेत्रमा सडक विस्तारको काम गर्दै कामदार ।

बनेपा समाचारदाता 

बनेपा, फागुन २३ गते । अरनिको राजमार्ग अन्तर्गतको सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तारको काम निर्धारित समयमा सम्पन्न हुनेमा आशङ्का गर्न थालिएको छ । राजमार्ग विस्तार अन्तर्गत हालसम्म २६ महिनाको अवधिमा (कामको कार्यतालिका अनुसार) काम नभएका कारण आयोजनाको काम समयमा नै सम्पन्न हुनेमा आशङ्का गरिएको हो । 

तीन वर्षको समयसीमा रहेको आयोजना अन्तर्गत सूर्यविनायकदेखि साँगाखण्ड र साँगादेखि धुलिखेलखण्ड गरी दुई चरणमा छुट्टाछुट्टै निर्माण व्यवसायीमार्फत सडक विस्तारको काम हुँदै आएको छ । सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले सडक विस्तार अन्तर्गत हालसम्म ४१ प्रतिशत भौतिक प्रगति भएको बताउनुभयो । काभ्रेपलाञ्चोकतर्फ हालसम्म सडकमा पर्खाल लगाउने, नाली, कल्भर्ट बनाउने, ढल, खानेपानी, विद्युत्को पोल स्थानान्तरण गर्ने काम गरिएको छ । काभ्रेपलाञ्चोकको भैँसेपाटीनजिक महादेव खोलामा पक्की पुल निर्माणको कामसमेत सुरु भएको बताउनुभयो । इन्जिनियर खनालले सूर्यविनायकदेखि साँगासम्मको सडकखण्डमा हालसम्म ३५ प्रतिशत काम भएको बताउनुभयो ।  

भक्तपुरतर्फको साँगानजिक तीव्र रूपमा सडक विस्तारको काम भइरहेको छ । काभ्रेपलाञ्चोकतर्फ सडक विस्तारको जिम्मा पाएको लामा कन्स्ट्रक्सन प्रालिका इन्जिनियर रवीन्द्र श्रेष्ठले सडक विस्तारको काम गर्ने क्रममा विभिन्न स्थानमा भएका अवरोधका कारण कार्यतालिका अनुसार काम गर्न नसकिएको बताउनुभयो । “काममा भएका अवरोधका कारण निर्धारित समयसीमामा सडक विस्तारको काम पूरा गर्न सकिँदैन,” उहाँले भन्नुभयो । 

“काम सुरु गर्दा आएका विविध अवरोधका कारण निर्धारित समयमा काम सम्पन्न गर्न सकिँदैन, मङ्सिरसम्म हाम्रो सम्झौताको मिति हो, मुस्किलले असारसम्ममा काम हुन्छ,” उहाँले भन्नुभयो । 

“वर्षायाममा काम गर्न सकिन्न, वर्षापछि चाडपर्व सुरु हुन्छन् । कात्तिक महिनासम्म काम हुँदैन । त्यसैले समयमा नै काम सम्पन्न गर्न मुस्किल परेको हो,”  श्रेष्ठले भन्नुभयो । सडक विस्तार अन्तर्गतको काम २०८३ असार मसान्तसम्ममा सकिने बताउनुभयो । सम्झौताको करिब छ महिना ढिलो हुने छ । पर्खाल लगाउने, नाली, कल्भर्टलगायतका काम भइराखेको छ । धुलिखेलमा सडकको पुरानो कालोपत्रे भत्काउने, सडकको सतह मिलाउने काम भइरहेको उहाँले जानकारी दिनुभयो । 

सडक विस्तार अन्तर्गत काभ्रेपलाञ्चोक खण्डमा असार मसान्तसम्म दुईदेखि तीन किलोमिटर सडक कालोपत्रे गर्ने गरी काम भएको बताउनुभयो । उहाँले आयोजनाले कामलाई तीव्रता दिन मौखिक रूपमा स्रोत सुनिश्चितताको कुरा गरे पनि लिखित रूपमा प्रतिबद्धता नजनाएका कारण कामलाई गति दिन नसकिएको स्पष्ट गर्नुभयो ।

लामो समयसम्म विवाद रहेको बनेपा बजारमा सडक विस्तारको काम सुरु भए पनि सडकको सिमा र पर्खालको उचाइको विषयमा विवाद भएपछि पुनः काम रोकिएको छ । आयोजनाका इन्जिनियर खनालले आयोजनाले निर्धारित समयमा नै सडक विस्तारको काम सम्पन्न गर्नका लागि दुवै सडकखण्डका निर्माण व्यवसायीलाई निर्देशन दिएको बताउनुभयो । उहाँले काभ्रेपलाञ्चोक र भक्तपुरतर्फको सडकखण्डको विस्तारको जिम्मा पाएको निर्माण व्यवसायीलाई आगामी असार मसान्तसम्म पाँच/पाँच किलोमिटर सडक कालोपत्रे गर्नुपर्ने सम्झौतामा रहेको छ । दुवै व्यवसायीले सम्झौता अनुसार कालोपत्रे गर्नैपर्ने इन्जिनियर खनालले बताउनुभयो । उहाँले काभ्रेपलाञ्चोकतर्फ अधिकांश स्थानको विवाद समाधान भएकाले जनशक्ति र उपकरण बढाएर निर्धारित समयमा नै कार्यतालिका अनुसारको काम गर्न निर्देशन दिइएको जानकारी दिनुभयो ।

सरकारले आफ्नै लगानीमा अरनिको राजमार्गको सूर्यविनायकदेखि धुलिखेलसम्मको १६ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरी दुई वर्षदेखि विस्तारको काम गर्दै आएको छ । सूर्यविनायकदेखि साँगासम्मको ७.५ किलोमिटर सडक निर्माणका लागि आशिषकुमार श्रेष्ठ, बन्धन, भगवती जेभीसँग भ्याटसहित तीन अर्ब ८८ करोड ९३ लाख रुपियाँको लागतमा ठेक्का पाएको हो । 

२०७९ पुस महिनादेखि र साँगादेखि धुलिखेलसम्मको ८.५ किलोमिटर सडक निर्माणका लागि लामा कन्स्ट्रक्सनसँग भ्याटसहित चार अर्ब पाँच करोड ६४ लाख रुपियाँमा ठेक्का सम्झौता भएको छ । २०७९ मङ्सिरदेखि सडक विस्तारको काम गर्दै आएको छ । साँगादेखि धुलिखेलसम्मको जिम्मा पाएको लामा कन्स्ट्रक्सनको सम्झौता २०८२ मङ्सिर र सूर्यविनायकदेखि साँगासम्मको सडकको जिम्मा पाएको आशिषकुमार श्रेष्ठ, बन्धन, भगवती जेभीको सम्झौता २०८२ पुस महिनामा सकिने आयोजनाले जनाएको छ ।