• १९ चैत २०८१, मङ्गलबार

पर्यटन प्रवर्धनमा कुँडुलेघर

blog

तानसेन समाचारदाता

तानसेन, फागुन २३ गते । परम्परागत कुँडुले (गोलो) घर हेर्ने मानिस बढ्दै गएका छन् । जिल्लाको माथागढी–३, सराइस्थित लखन थापा पार्कमा बनाइएको कुँडुलेघर अवलोकन गर्ने सङ्ख्या बढ्दै गएसँगै पर्यटन प्रवर्धनमा पनि टेवा पुगेको स्थानीय बताउँछन् । 

दुई/तीन पुस्ताअघि मगर समुदाय कुँडुलेघरमा बस्ने प्रचलन थियो । बढ्दो आधुनिकतासँगै पछिल्लो समय यस्ता घर लोप हुँदै गएका छन् । पहिचान झल्काउने कुँडुलेघर लोप भएपछि यहाँका बासिन्दाको श्रमदान र सहयोगबाट कुँडुलेघरसहितको सङ्ग्रहालय बनाएको स्थानीय  हुमा दर्लामीले बताउनुभयो । कुँडुलेघरभित्र मगर समुदायले परम्परादेखि प्रयोग गर्दै आएका वस्तु राखिएका छन् । कुँडुलेघरभित्र ढिकी, जाँतो, हलो, जुवा, पकाउने भाँडाकुँडा, महिला तथा पुरुषले लगाउने कपडा, गरगहना राखिएका छन् । 

कुँडुलेघरमा परम्परागत झ्यालढोका प्रयोग गरिएको छ । लोप हुँदै गएको कुँडुलेघरको अवलोकनपछि उनीहरू खुसी भएर फर्किने गरेको फूलबारी आमा समूहकी अध्यक्ष कमला चिदीले बताउनुभयो । समूहका सदस्यको श्रमदान, विभिन्न सङ्घ संस्था र व्यक्तिको सहयोगमा कुँडुलेघर निर्माण गरेपछि यसको महत्व बढ्दै गएको उहाँले बताउनुभयो । कुँडुलेघरमा युवकयुवतीले टिकटक र रिलसमेत बनाउने गरेका छन् । 

पछिल्लो समय पाल्पाको निस्दी र पूर्वखोलामा केही सङ्ख्यामा मात्र कुँडुलेघर देख्न सकिन्छ । ती क्षेत्रमा समेत कुँडुलेघरको सङ्ख्या निकै कम भइसकेको छ । यस्तो अवस्थामा सहरी क्षेत्रमा कुँडुलेघर बनाएर त्यसभित्र परम्परागत पहिचान झल्किने वस्तु राखेपछि त्यसले नयाँ पुस्तालाई आकर्षित गरेको माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले बताउनुभयो । लखन थापा पार्कभित्र बनाइएको कुँडुलेघर हेरेर त्यसबाट ऐतिहासिक शिक्षा र परम्परागत ज्ञान प्राप्त गर्न सहज हुने उहाँले बताउनुभयो । लखन थापा पार्कलाई आकर्षित बनाउन पालिकाले लगानी गरेको छ । पार्कभित्र रहेको कुँडुलेघरलाई थप व्यवस्थित गर्दै जाने स्थानीय बासिन्दा बताउँछन् । मगर दिवस, शनिबार र बिदाका बेलामा धेरै जना कुँडुलेघरको अवलोकनमा आउने गरेका छन् । लोपोन्मुख कुँडुलेघरलाई थप व्यवस्थित गर्दै जाने हो भने यसले पर्यटन प्रवर्धन र परम्पराको संरक्षण गर्न सहयोग पुग्ने देखिन्छ ।