• २२ फागुन २०८१, बिहिबार

आइसिसी च्याम्पियन्स ट्रफी

भारत र न्युजिल्यान्डबिच फाइनल भिडन्त

blog

रन बनाएपछि न्युजिल्यान्डका खेलाडी । तस्बिर : आइसिसी

काठमाडौँ, फागुन २२ गते । आइसिसी च्याम्पियन्स ट्रफीको उपाधिका लागि भारत र न्युजिल्यान्ड भिड्ने भएका छन् ।

लाहोरमा बुधबार राति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

यसअघि पहिलो सेमिफाइनलमा भारतले अष्ट्रेलियालाई चार विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । न्युजिल्यान्ड तेस्रो पटक फाइनलमा पुगेको हो । सन् २००० को च्याम्पियन न्युजिल्यान्ड २००९ को फाइनलमा अस्ट्रेलियासँग पराजित भएको थियो ।

जितका लागि न्युजिल्यान्डले दिएको तीन सय ६३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा नौ विकेटको क्षितमा तीन सय १२ रन मात्र बनाउन सक्यो । 

दक्षिण अफ्रिकाका लागि डेविड मिलरले सतक बनाउनुभयो । उहाँले ६७ बलमा १० चौका र चार छक्काको सहयोगमा एक सय रन बनाउनुभएको हो । रास्सी भान डेर डुसेनले ६९, कप्तान टेम्बा बावुमाले ५६, एडेन मार्करमले ३१, रायन रिकेल्टनले १७ र कागिसो रबाडाले १६ रन बनाउनुभयो । 

बलिङमा न्युजिल्यान्डका लागि कप्तान मिचेल स्यान्टनरले तीन विकेट लिनुभयो । यस्तै म्याट हेनरी र ग्लेन फिप्सिले दुई दुई तथा रचिन रविन्द्रले एक विकेट झार्नुभयो । 

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा तीन सय ६२ रन बनाएको थियो । 

न्युजिल्यान्डका लागि रचिन रविन्द्र र केन विलियमसनले सतकीय पारी खेल्नुभयो । रचिनले एक सय आठ रन बनाउनुभयो । उहाँले एक सय एक बलमा १३ चौका र एक छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो ।

यस्तै केनले ९४ बलमा १० चौका र दुई छक्काको सहयोगमा एक सय दुई रन हान्नुभयो । ग्लेन फिलिप्सले अविजित ४९, ड्यारिल मिलेलले ४९, विल योङले २१ र माइकल ब्रेसवेलले १६ रन जोड्नुभयो । 

बलिङमा दक्षिण अफ्रिकाका लागि लुंगी एनगिडीले तीन विकेट लिनुभयो । कागिसो रबाडाले दुई र वियान मुल्डरले एक विकेट लिनुभयो । एजेन्सी