• १९ असार २०८१, बुधबार

अनुमति बिना नेपाल प्रवेश गरेको भारतीय कार बेलहियामा बरामद

blog

रुपन्देहीको बेलहिया नाकामा बरामद भएको भारतीय कार । तस्बिरः कबिन्द्र नेपाल

लक्ष्मण पौडेल
भैरहवा, जेठ १७ गते ।
अनुमति बिना नेपाल प्रवेश गरी विभिन्न स्थान पुगेर फर्किदै गर्दा भारतीय नम्बर प्लेटको कार रुपन्देहीको बेलहियाबाट बरामद गरिएको छ ।

बरामद गरिएको कारलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

भन्सारमा अनुमति बिना नेपाल प्रवेश गरेको कार मुलुकका विभिन्न स्थानमा पुगी भारत फर्किने क्रममा एमपी १९ सिसि ६६०२ नम्बरको भारतीय नम्बर प्लेटको कारलाई सोमबार राति करिब पौन १० बजे बेलहियाबाट बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार एक साता अघि इलामको पशुपतिनगर सीमा हुँदै उक्त कार नेपाल प्रवेश गरेको थियो ।

काठमाडौं, पोखरालगायतका विभिन्न स्थान घुमेर बेलहिया नाका हुँदै फर्किने क्रममा बरामद भएको हो ।

इलाका प्रहरी कार्यालय बेलहियाको टोलीले चेकजाँचका क्रममा नेपाल प्रवेशका लागि आधिकारिक भन्सार पत्रलगायतका कुनै पनि कागजपत्र नभएकाले बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले बताउनुभयो ।

अवैध रुपमा नेपाल प्रवेश गरेको उक्त कार करिब एक साता नेपालका विभिन्न स्थानमा पुगी सोमबार राति भारत फर्किदै थियो ।

भारतीय नम्बर प्लेटका गाडीहरु नेपाल प्रवेश गर्दा भन्सार गरेर कानुनी प्रक्रिया पूरा गरी आउनुपर्छ । आवश्यक प्रक्रिया नगरी अवैध रुपमा नेपाल प्रवेश गरेको २० लाख रुपियाँ बराबरको कार बरामद गरी आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय रुपन्देहीमा पठाइएको प्रवक्ता पौडेलले बताउनुभयो ।