काठमाडौँ, फागुन १८ गते । काठमाडौँ महानगरपालिकाभित्रका केही सामुदायिक विद्यालयले अवकाश प्राप्त शिक्षकको नाममा पनि महानगरपालिकाबाट तलबभत्ता लिने गरेको पाइएको छ । सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी तथा तिनले मासिक रूपमा बुझ्ने गरेको तलबभत्ताको विवरण अध्ययन गर्दा महानगरपालिकाले यस्तो फेला पारेको हो । महानगरपालिकाको शिक्षा विभागका अनुसार कानुनविपरीत तलबभत्ता लिएका शिक्षकबाट ५० लाख रुपियाँ फिर्ता गराइएको छ ।
केही समयअघि महानगरपालिकाले आफू मातहतका सबै सामुदायिक विद्यालयलाई पत्राचार गरेर त्यहाँ कार्यरत शिक्षक, कर्मचारी तथा उनीहरूको मासिक तलबभत्ताको विवरण मागेको थियो । महानगरपालिकाले सोही अनुसार तलबभत्ताबापतको रकम उपलब्ध गराउँदै आएको थियो । अध्ययन गर्दा भने केही विद्यालयले अवकाश पाइसकेका शिक्षकको विवरण पनि समावेश गरेर महानगरपालिकालाई पठाएका थिए । सोही विवरण अनुसार महानगरपालिकाले तलबभत्ताबापतको रकम पठाएको थियो । पछि थप अध्ययन गर्दा विद्यालयहरूले बदनियतपूर्वक विवरण पठाएको पाइएको हो ।
“केही विद्यालयले शिक्षकहरू अवकाशमा गएको दुई महिनापछि पनि तलबभत्ता वितरण भइरहेको भनेर विवरण पठाएको पाइयो,” महानगरपालिकाको शिक्षा विभागका एक अधिकृतले भन्नुभयो, “कुनै विद्यालयले भने १५ गते अवकाशमा जान लागेका शिक्षकका नाममा पनि पूरै महिनाको तलबभत्ता जोडेर विवरण पठाएको पाइयो ।” शिक्षा विभागका अनुसार एक जना शिक्षकले त उमेर हदभन्दा साढे दुई वर्ष बढी समय पढाएर नियमित तलब बुझिरहनुभएको थियो । पछि थाहा पाएपछि उहाँले उक्त अवधिभर बुझेको १६ लाख रुपियाँ फिर्ता गर्नुभएको थियो भने बढी पढाएको समयको पेन्सन मात्रै उपलब्ध गराइएको थियो । महानगरपालिकाका सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाले ती विद्यालयबारे अध्ययन भइरहेको बताउनुभयो । शिक्षक, कर्मचारीको विवरण माग गर्दा सुरुमा नै केही विद्यालयले आनाकानी गरेका थिए । “धेरै पटक सम्झाएपछि विवरण त पाइयो तर अपूरो विवरण आयो,” झाले भन्नुभयो । पछिल्लो समय महानगरपालिकाले सामुदायिक विद्यालयको शिक्षाको सुधार र निजी तथा संस्थागत विद्यालयलाई कानुनी दायरामा ल्याउन थुप्रै कार्यक्रम सञ्चालन गरिरहेको छ ।
यसैबिच विद्यालय शिक्षाको गुणस्तर सुधार्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले आयोजना गरेको दुईदिने शैक्षिक मेला शनिबार सम्पन्न भएको छ । मेलामा विद्यार्थीका सिप र सिर्जनात्मक क्षमताको प्रदर्शन, शिक्षण–शिक्षण नवप्रवर्तन तथा विद्यालय पूर्वाधार र शिक्षक विकासका कार्यक्रम प्रस्तुत गरिएको थियो ।