खोटाङ, फागुन १६ गते । दिक्तेल बजारमा प्रथम राष्ट्रिय बाँस सम्मेलन सुरु भएको छ । दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्डहलमा औपचारिक उद्घाटन गरिएको बाँस सम्मेलनमा नजिकै रहेको माटिकोरे खेल मैदानमा विभिन्न स्टलहरू राखिएको छ ।
सम्मेलनमा बाँसको गेट, बाँसकै कार्यक्रमस्थल र बाँसकै घरायसी सामग्री तथा सजावटका सामग्रीहरू प्रदर्शनीमा राखिएका छन् । सम्मेलनमा स्थानीयदेखि अन्तर्राष्ट्रियस्तरसम्म व्यापार व्यवसाय गरिरहेका बाँस व्यावसायी, स्थानीयस्तरमा उत्पादन भएका कृषि उपज र खाद्यान्नका विभिन्न परिकार लगायत ५१ वटा स्टल राखिएको आयोजकले गरेको छ ।
यस्तै, मनोरञ्जनका लागि लिङ्गेपिङ तथा रोटेपिङलगायतको पनि व्यवस्था गरिएको सम्मेलनका मुख्य आयोजक दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीको प्रमुख आतिथ्यमा भएको बाँस सम्मेलनको उद्घाटन कार्यक्रममा सङ्घीय सांसदहरू, प्रदेशका मन्त्री र सांसदहरू, गभर्नर, विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सङ्घ संस्थाका प्रमुख, जिल्लाका दसवटै स्थानीय तह तथा जिल्ला बाहिरका स्थानीय तहका प्रमुखहरूको उपस्थिति थियो ।
जिल्ला बाहिरबाट मात्र ३०० भन्दा बढी अतिथिको बाँस सम्मेलनमा उपस्थिति छ । त्यसअवसरमा विज्ञहरूबाट २३ वटा कार्यपत्र प्रस्तुत हुने नगरप्रमुख भट्टराईले जानकारी दिनुभएको छ ।
‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’ भन्ने नाराका साथ सञ्चालन गरिएको सम्मेलनको आयोजकहरूमा वन तथा प्रशिक्षण केन्द्र बबरमहल, वन तथा वातवरण मन्त्रालय कोशी प्रदेश र ग्रिन ब्याम्बो क्रिएसन ललितपुर रहेका छन् । बाँसको प्रवर्धन गर्दै यसबाट आयआर्जन गर्ने यस सम्मेलनको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।
सम्मेलनका लागि नगरपालिकाले रु. पाँच लाख बजेटसमेत व्यवस्थापन गरेको छ । सम्मेलनमा अनुमानित रु. ४७ लाख बराबरको खर्च हुने अनुमान गरिएको नगरपालिकाले जनाएको छ । सम्मेलनलाई सरकारी तथा गैर–सरकारी निकायका एक सय, वन उपभोक्ता समूहका एक सय, विश्वविद्यालय तथा अनुसन्धान केन्द्रका ५० जना र हजारौँ विद्यार्थीले अवलोकन गर्ने अनुमान गरिएको नगर उपप्रमुख विशन राईले जानकारी दिनुभएको छ ।
त्यसअवसरमा बाँसको उपयोगितालाई व्यवहारमा कार्यान्वयन गर्न र सरकारलाई स्थानीय सामग्री प्रयोग गर्ने नीति व्यवहारमा कार्यान्वयन गर्न÷गराउन खबरदारी गर्ने उद्देश्यले उच्च पदस्थ व्यक्तिलाई बाँसको कुर्सी उपहार दिने निर्णय गरिएको गरिएको छ ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा ढुङ्ग्रो र भालु बाँससहित चोया बाँस, वन बाँस, करौती बाँस, मालिङ्गो बाँस, सिँगानो बाँस, निगाँलो बाँस, मुक्तियालीलगायत १३ किसिमका बाँस पाइन्छन् । बाँससम्बन्धी काम गरिरहेका विभिन्न निकायसँगको सहकार्यमा तीनवटै तहका सरकारको संयुक्त आयोजनामा प्रथम राष्ट्रिय बाँस सम्मेलन सुरु भएपछि स्थानीय बाँस उद्यमी तथा व्यवसायीहरू उत्साहित भएका छन् ।
बाँस उद्योग सञ्चालनका लागि नगरपालिकाले स्थानीय बासिन्दा एवम् उद्यमीलाई तालिम तथा सामग्री उपलब्ध गराउँदै आएको छ । नगरपालिकाका स्थानीय बासिन्दा एवम् उद्यमीले उत्पादन गरेका बाँसका विभिन्न प्रकारका घरेलु सामग्री दिक्तेलस्थित सपिङ कम्प्लेक्समा सञ्चालित कोसेलीघरले खरिद गरेर बिक्री गर्दै आएको छ । रासस