• १७ फागुन २०८१, शनिबार

सांसदलाई सवाल –३२

‘नागरिकले कानुनभन्दा विकासको अपेक्षा गर्छन्’

blog

काठमाडौं, फागुन १७ गते । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा सुनसरी निर्वाचन क्षेत्र –२ का सांसद भीमप्रसाद आचार्यले सरकारसँग काम गर्ने तिब्र इच्छा देखिए पनि तालमेल नमिल्दा परिणाम आउन ढिलो भइरहेको बताउनुहुन्छ । 

गोरखापत्र अनलाइनको सांसदलाई सवाल कार्यक्रममा उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीसँग देश र जनताको पक्षमा काम गर्ने क्षमता र हुटहुटी भए पनि सबैको सहकार्य र सहयोगको खाँचो रहेको उहाँको भनाइ छ । स्थानीय नागरिकले जनप्रतिनिधिबाट कानुनभन्दा विकासको अपेक्षा बढी गर्ने गरेको उहाँ बताउनुहुन्छ । 

“निर्वाचित भएकै दिनदेखि यो बाटो बन्नुपर्छ, यो पुल, कल्भर्ट बन्नुपर्छ, यहाँ तटबन्ध बन्नुपर्छ भन्ने माग आउँछ” उहाँले भन्नुभयो, “निर्वाचन क्षेत्रका ९५ प्रतिशत जनताले विकासको माग गर्छन्, ५ प्रतिशत जनताले मात्र राम्रो ऐन कानुन बनाउनु होला भन्छन् ।”

नेपालको समृद्धिको बाधक पुराना कानुन भएको बताउँदै नेता आचार्यले राणाकालीन, महेन्द्रकालीन ऐन नियमलाई समयअनुकुल परिमार्जनको खाँचो रहेको औंल्याउनुहुन्छ । नेपालका कानुन झन्झटिला र परम्परागत भएकाले त्यसलाई समयमै परिमार्जन गर्न नसके विकासको बाधक बनिरहने उहाँको बुझाइ छ । 

तेलिया गा.वि.स.–६, धनकुटामा २०१६ वैशाख १४ गते जन्मनुभएका पूर्व पर्यटन तथा संस्कृतिमन्त्री समेत रहिसक्नुभएका आचार्य २०३२ सालमै विद्यार्थी राजनीतिबाट राजनीतिमा सक्रिय हुनुभएको थियो । 

२०३६ सालमा इन्जिनियरिङ अध्ययन संस्थान स्ववियु सचिवमा अनेरास्ववियुबाट निर्वाचित सांसद आचार्य २०३८ सालमा सरस्वती बहुमुखी क्याम्पस, लैनचौरको स्ववियु सचिवमा निर्वाचित हुनुभएको थियो । सोही वर्ष तत्कालीन नेकपा (माले) को युथलिगको सचिवको जिम्मेवारीमा आउनुभयो । 

कोशी प्रदेशको पूर्व मुख्यमन्त्रीसमेत रहनुभएका सांसद आचार्यले ताप्लेजुङमा निर्माणाधीन केबलकार विषयमा सहमति गरेर अघि बढ्न आवश्यक रहेको बताउनुभयो । विकास र संस्कृतिलाई जोडेर अघि बढेमात्र दिगो विकास हुने भन्दै उहाँले स्थानीय नागरिकको माग सम्बोधनमा सरकार चुक्न नहुने सुझाव दिनुभयो । दुई पक्षीय वार्ता संवाद भए पनि परिणाम आउन ढिलो भइरहेको भन्दै उहाँले गृह मन्त्रालयको कामले चुस्तता लिनुपर्ने बताउनुभयो । बल प्रयोग गरेर समस्याको समाधान सम्भव नरहेको उहाँको सुझाव छ । 

२०४१ सालमा राजकाज मुद्दाअन्तर्गत दुई वर्ष जेल र पटक–पटक गरी ११ पटक सुरक्षाकर्मीद्वारा गिरफ्तार हुनुभएका नेता आचार्यले भन्नुभयो, “देशको विकासमा ढिलाइ भए पनि पहिलेको तुलनामा धेरै विकास भइसकेको छ । विकासमा जनताको आकांक्षा तीव्र रहेकाले राजनीतिक दल, नागरिक समाज, सरोकारवाला सबैले इमान्दार प्रयास गरेर देश बनाउनुपर्छ ।”

ताप्लेजुङको पाथीभरा क्षेत्र धार्मिक पर्यटकका लागि प्रख्यात रहेकाले धार्मिक पर्यटक भित्र्याउन विकासको काम हुन आवश्यक रहेको उहाँको बुझाइ छ । स्थानीय नागरिकलाई विश्वासमा लिएर, उहाँहरुको माग सम्बोधन गरेर विकासको काम गर्न सम्भव रहेको भन्दै उहाँले भन्नुभयो, “ताप्लेजुङमा केवलकार निर्माण भयो भने अहिले आउने पर्यटकको तुलनामा धार्मिक पर्यटकको सङ्ख्या चार गुणा वृद्धि हुन्छ । त्यसले स्थानीय जनजीवन र नागरिकको आर्थिक स्तरमा वृद्धि हुन्छ ।”

देशभरी मेचीदेखि महाकालीसम्म करिब एक सय वटा केवलकार निर्माण गर्न सकेमा पर्यटकीय क्षेत्रबाटै देशको आर्थिक समृद्धि कायम गर्न सकिने उहाँको भनाइ छ । देशमा पर्यटन क्षेत्रको विकास गर्ने अथाह सम्भावना भए पनि लगानी नभएर पूर्वाधार निर्माण गर्न नसकिएको उहाँले चर्चा गर्नुभयो । 

२०५४ सालमा नेपालगञ्जमा सम्पन्न एमालेको छैठौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित नेता आचार्य २०५७–२०५८ मा पार्टी केन्द्रीय कार्यालयको सचिवको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सचिवमा निर्वाचित हुनुभएका नेता आचार्य अहिले स्थायी कमिटी सदस्य जिम्मेवारीमा हुनुहुन्छ । 

प्रस्तुत छ नेकपा (एमाले) का स्थायी कमिटी सदस्य, पूर्वमन्त्री तथा सुनसरी निर्वाचन क्षेत्र –२ का सांसद भीमप्रसाद आचार्यसँग गोरखापत्र अनलाइन डट कमका निमित्त सम्पादक लक्की चौधरी, प्रविधितर्फ मनोजरत्न शाहीकेशब गुरुङले गर्नुभएको भिडियो अन्तर्वार्ता :

Author
लक्की चौधरी

उहाँ गोरखापत्र अनलाइन प्रकाशनको निमित्त सम्पादक हुनुहुन्छ ।