काठमाडौँ, फागुन १२ गते । फोर नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालले आइतबार बलियो मानिएको म्यान्मारसँग २–२ ले बराबरीमा खेलेको छ । फिफा वरीयतामा १०३ औँ स्थानमा रहेको नेपालले दुई पटक पछाडि परेर पनि ५५ औँ स्थानमा रहेको म्यान्मारविरुद्धको खेलमा पुनरागमन जनाएको हो । करिब १३ हजार दर्शकको उपस्थिति रहेको दशरथ रङ्गशालामा नेपालका लागि सविता रानामगर र सावित्रा भण्डारी ‘साम्बा’ र म्यान्मारका लागि म्याट नोइ खिन र मे हिट लुले गोल गर्नुभयो । सावित्रा नेपालको दुवै गोलमा संलग्न हुनुभएको थियो ।
नेपाल र म्यान्मारले पहिले नै फाइनलमा स्थान बनाइसकेकाले दुवै टिमले आरामका साथ खेल्ने अपेक्षा गरिएको थियो तर खेल अवधिभर दुवै टिमले तीव्र गतिमा रोमाञ्चक र प्रतिस्पर्धात्मक फुटबल खेले ।
नेपालले खेलको छैटौँ मिनेटमै गोल बेहोर्यो । गोलकिपर अञ्जना रानामगरले म्याट नोइ खिनले लामो दुरीबाट फ्रिकिकमा सही अनुमान गर्न नसकेपछि बल गोलपोस्टमा छिरेको थियो । प्रशिक्षक राजेन्द्र तामाङले कप्तान एन्जिला तुम्बापो सुब्बाको स्थानमा अञ्जनालाई पहिलो रोजाइमा खेलाउनुभएको हो । प्रशिक्षक तामाङले अञ्जनासँगै विमला चौधरी र रेखा पौडेलको बेन्चमा राखेर मिडफिल्डर सरु लिम्बू र फरवार्ड रश्मिकुमारी घिसिङलाई पनि सुरुवातमै अवसर दिनुभएको थियो । म्यान्मारले पनि आफ्ना कप्तान तथा प्रमुख खेलाडी विन थिन्गी टुनलाई बेन्चमा राखेको थियो । उहाँ खेल एक घण्टामा पुग्दा मात्र मैदानमा प्रवेश गर्नुभएको हो ।
बलियो टिमविरुद्ध सुरुमै पछाडि परेपछि घरेलु टिम दबाबमा पर्ने अनुमान गरिएको थियो तर नेपालले पाँच मिनेटपछि नै बराबर गोल गरेर घरेलु मैदानमा आफ्ना समर्थकबिच दबेर नखेल्ने स्पष्ट पार्यो । सावित्राले सानदार ‘ड्रिब्लिङ’ का साथ बल डिबक्समा लगेर दिएको ‘कट ब्याक’ पासमा गोलपोस्टनजिक बिनानिगरानीमा रहेकी सविताले सहज ढङ्गले गोल गर्नुभयो ।
म्यान्मारले १६ औँ मिनेटमा अर्को गोल गरेपछि नेपाल फेरि पछाडि पर्यो । यस पटक पनि नेपालले आफ्नै गल्तीमा गोल बेहोरेको थियो । अन्तिम डिफेन्डर गीता रानाले डिबक्सभित्र बल ‘क्लियर’ गर्न नसकेपछि हिट लुले मौकाको फाइदा उठाउँदै गोल गर्नुभयो । यस प्रतियोगितामा हिट लुको यो तेस्रो गोल हो । पूर्वार्ध सकिन चार मिनेट बाँकी छँदा सावित्राले स्कोर २–२ पार्नुभयो । नेपालले बनाएको एक राम्रो मुभमा प्रीति राईको पासमा डिबक्सभित्रबाट सावित्राले सशक्त प्रहारमार्फत गोल गर्नुभएको हो । नेपालका सर्वाधिक गोलकर्ता सावित्राको यो ५५ औँ अन्तर्राष्ट्रिय गोल भएको छ । मध्यान्तरपछिको खेलमा तुलनात्मक रूपमा नेपालले गोलको बढी अवसर पाएको थियो तर नेपालले गोल थप्न सकेन र म्यान्मारविरुद्ध पहिलो पटक जित हात पार्ने पर्खाइ लम्बियो । अब यी दुई टिमले एकअर्काबिच बुधबार च्याम्पियन बन्न खेल्ने छ ।
‘समग्रमा खेल राम्रो भयो’
नेपालका प्रशिक्षक राजेन्द्र तामाङले सुरुका दुई गोलमा गल्ती भए पनि खेलाडीले नआत्तलिकन खेलेकाले आफूलाई खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “सुरुका १० मिनेट समस्या भएको हो तर मेरा खेलाडीले आफूमाथ दबाब आउन दिएनन् ।” यसै गरी गोलकर्ता सावित्राले समग्रमा खेल राम्रो भएको छ भन्नुभयो । “आज केही गल्ती भए तर मौका पनि धेरै बनायौँ । खेलमा पाएका मौकामध्ये केहीको सदुपयोग भएको भए आज जित हाम्रो पक्षमा हुन्थ्यो,” सावित्राको भनाइ थियो । उहाँले म्यान्मार बलियो टिम हो भन्नुहुँदै फाइनलमा आजको भन्दा राम्रो खेल देखाएर च्याम्पियन बन्ने बर्सौंदेखिको सपना पूरा गर्ने पनि बताउनुभयो । म्यान्मारका प्रशिक्षक युकी तेत्सुरोले नेपालविरुद्धको खेलका लागि तयारी गरेका थियौँ तर मेरा खेलाडीले अपेक्षा अनुरूप खेल्न सकेन,” भन्नुभयो । यद्यपि उहाँ भन्नुहुन्छ, “फाइनलमा हामी राम्रो खेल्ने छौँ ।”
लेबनानको सुखद बिदाइ
फोर नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा आइतबार भएको पहिलो खेलमा लेबनानले किर्गिस्तानलाई २–० ले हराएको छ । सुरुका दुवै खेल हारेर फाइनलको होडबाट बाहिरिसकेको हुनाले लेबनान र किर्गिस्तानको भिडन्त प्रतिष्ठा जोगाउने खेल मात्र बनेको थियो ।
खेलको १३ औँ मिनेटमा क्रिस्टी मालुफले डिबक्सबाहिरबाट दर्शनीय गोल गरेर लेबनानलाई अगाडि पार्नुभएको थियो । नवौँ मिनेटपछि म्या रोजले सहज ‘ट्यापइन’ मार्फत दोस्रो गोल गर्नुभयो ।