नवलपुर, फागुन १२ गते । देवचुली–१६, रजहरका हरिप्रसाद सापकोटा अत्यन्तै जटिल र जीर्ण मानिएका सात थरी रोग बोकेर २०६० सालदेखि हिँडिरहनुभएको थियो । ३० बर्से सापकोटाको आन्द्रामा अल्सर, पिनास, न्यून रक्तचाप, दिसा नहुने र डिप्रेसनको समस्या थियो ।
विभिन्न ठाउँमा अनेक थरी उपचार गर्दा पनि निको नभएपछि मृत्युको प्रतीक्षामा उहाँको लामो समय बित्यो । उहाँले तीन महिना भारत गएर उपचार गराउनुभयो । ठिक नभएपछि आफूलाई निको नहुने रोग रहेछ भन्ने ठानेर मृत्युको पर्खाइमा नेपाल फर्कनुभयो तर उहाँमा बाँच्ने उत्कट चाहना थियो । त्यसैले थप उपायको खोजीमा भौँतारिनुभयो ।
अन्तिम आस भनेको प्राकृतिक चिकित्सा र योग थियो । त्यसका लागि उहाँ पोखरा जानुभयो । जहाँ डा. चन्द्रकान्त सुवेदीलगायत प्राकृतिक चिकित्साप्रेमीले सञ्चालन गरेको चिकित्साबाट उहाँ तीन महिनाको उपचारबाट पूर्ण रूपमा स्वस्थ हुनुभयो । त्यसपछि उहाँले एउटा प्रतिज्ञा गर्नुभयो, यस्तै खालको प्राकृतिक चिकित्सालयको विकास गर्ने र जीवन त्यसैमा समर्पित गर्ने । अनि देवचुलीको रजहरमा जन्म्यो सामुदायिक प्राकृतिक चिकित्सालय ।
स्थानीयले धनधान्याञ्चल महायज्ञ आयोजना गरेर जन्मेको यो चिकित्सालयको २०६८ सालमा तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गर्नुभएको थियो । ‘रोग अनेक, उपचार एक तथा आहार नै औषधी, औषधी नै आहार’ भन्ने मूल मन्त्रका साथ स्थापित यो चिकित्सालय अहिले देशकै नमुना बनेको छ । जहाँ हालसम्म मुलुकको उच्च ओहोदामा पुगेका सयौँ व्यक्तिले उपचार गराइसक्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यहाँबाट नियमित परामर्श लिइरहनुभएको दाबी गरिन्छ । दिल्लीको मेदान्त अस्पतालबाट उपचार असम्भव भनी घर फर्काइनुभएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, लुम्बिनीकै सभामुख तुलाराम घर्ती, १२ दिनमा ११ थरी औषधी छोडेर निरोगी हुनुभएका पूर्वसभामुख कृष्णबहादुर महरा, पूर्वसञ्चारमन्त्रीहरू राम कार्की र रेखा शर्मासहित नेता, कलाकार, पत्रकारलगायत देशविदेशबाट हजारौँले यहाँबाट नयाँ जीवन प्राप्त गरेको चिकित्सालयका व्यवस्थापक हरिप्रसाद सापकोटाले बताउनुभयो ।
कोरोना महामारीमा देशकै उत्कृष्ट आइसोलेसनको रूपमा यो चिकित्सालयले ख्याति कमाएको थियो । दुई वर्षको दुधे बालकदेखि मुटुको शल्यक्रिया गरेर अक्सिजनको निबुलाइजर लगाएका ८९ वर्षीय वृद्धसहित ७८९ जना कोभिड सङ्क्रमित बिरामी सबै निको भएर घर फर्केको यो संस्थामा १० वर्षदेखि कार्यरत डा. आजाद पुरीको भनाइ छ ।
अहिले यो चिकित्सालयलाई प्राकृतिक चिकित्सा विज्ञान अध्यापन गराउने शिक्षण अस्पतालका रूपमा विकास गर्ने तयारी गरिएको छ । नेपाल संस्कृत विश्वविद्यालय मातहत रहने गरी शिक्षण अस्पताल सञ्चालन गर्न बजेट, भौतिक पूर्वाधार, जनशक्ति कुनै पनि अभाव नहुने र सम्बन्धनको मात्र पर्खाइमा रहेको सापकोटाले बताउनुभयो । यसलाई देशकै पहिलो प्राकृतिक चिकित्सा अध्यापन गराउने शिक्षण अस्पताल बनाउन आवश्यक तयारी गरिएको डा. पुरीले बताउनुभयो ।
दस बिघा क्षेत्रफलमा फैलिएको चिकित्सालयमा आगामी असारदेखि तीन सय शøयामा रूपान्तरण गरिने व्यवस्थापक सापकोटाले बताउनुभयो । राष्ट्रिय योजना आयोगले विशेष अनुदानमार्फत १२ करोड ४६ लाख रुपियाँ विनियोजन गरेको छ । जुन रकममध्ये यो वर्ष पाँच करोड रुपियाँको भवन निर्माणाधीन अवस्थामा छ भने आगामी वर्ष सात करोड ४६ लाख खर्च गरी भवन निर्माण गर्ने योजना बनाइएको छ । सम्बन्धन पाएमा यो वर्ष, नभए अर्को वर्षदेखि शिक्षण अस्पताल सञ्चालन गर्न सकिने उहाँले बताउनुभयो । नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति कुलप्रसाद कोइरालाले यहाँको समाज, स्थानीय सरकार र सङ्घीय सरकारले समेत लगानी गरेको र आवश्यकता महसुस गरेकाले प्राकृतिक चिकित्सा, योग र आयुर्वेद पढाउने गरी विश्वविद्यालयको आङ्गिक क्याम्पस बनाउन प्रक्रिया अघि बढेको बताउनुभयो । शरीर, मन र दिमागको उपचार गर्ने अस्पताल अहिलेको आवश्यकता रहेको उहाँको भनाइ छ । त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयले आङ्गिक क्याम्पसको रूपमा शिक्षण अस्पताल सञ्चालन गरिरहेका छन् । पहिलो वर्ष चिकित्सालयमा ब्याचलर इन नेचुरोपेथी एन्ड योग साइन्स (बिएनवाइएस) को कक्षा सञ्चालन गर्ने गरी पाठ्यक्रमसमेत निर्धारण भए पनि सम्बन्धनमा मात्र कुरा अड्किएको पूर्व उपकुलपति कोइरालाको भनाइ छ ।
सम्बन्धनका लागि अब विश्वविद्यालय सभाले प्रस्ताव पास गरेर विश्वविद्यालय अनुदान आयोग, शिक्षा मन्त्रालय, अर्थ मन्त्रालय र चिकित्सा शिक्षा आयोगमा जानकारी गराउनु पर्छ । त्यसपछि संस्कृत विश्वविद्यालयले शिक्षण अस्पताल सञ्चालन गर्न सक्ने छ ।
तालाबन्दीले सम्बन्धनमा ढिलाइ
सम्बन्धन दिने निकाय नेपाल संस्कृत विश्वविद्यालयमा लामो समयदेखि तालाबन्दी रहेकाले प्रक्रिया अघि बढेको छैन । विश्वविद्यालयका कुलपति धनेश्वर नेपालले तालाबन्दीका कारण आफूले फाइल अध्ययन नै गर्न नपाएको बताउनुभयो । “अध्ययनपछि मात्र सम्बन्धनको निर्णय हुन्छ,” पूर्वउपकुलपति कोइरालाले भन्नुभयो ।
नेपाल पुस ८ गते उपकुलपति नियुक्त हुनुअघि नै विश्वविद्यालयमा विभिन्न विद्यार्थी सङ्गठन र आंशिक शिक्षकहरूले विभिन्न माग राखेर तालाबन्दी गरिरहेका छन् । लामो समयदेखि तालाबन्दी हुँदा आर्थिक, शैक्षिक, प्राज्ञिक र प्रशासनिक काम प्रभावित भएको विश्वविद्यालयले जनाएको छ ।
प्राकृतिक चिकित्सा विज्ञानमा आधारित रहेर बिनाऔषधी उपचार गरिने यस अस्पतालमा माटो, पानी, हावा, अग्नि साथै जडीबुटी, वैज्ञानिक मालिस अकुपञ्चर, फिजियोथेरापी योग, ध्यान पद्धतिद्वारा उपचार गरिन्छ । विशेष गरी औषधीय उपचारबाट निको हुन नसकेका बिरामीलाई प्राकृतिक चिकित्सा र योग पद्धतिमार्फत उपचार सेवा प्रदान गरिने भएपछि चिकित्सालयमा उपचार सेवा लिन आउनेको सङ्ख्या हरेक वर्ष बढिरहेको अस्पताल प्रशासनले जनाएको छ ।