• ८ असार २०८२, आइतबार

६ दिनदेखि मालवाहक सवारी साधन सडकमै

blog

नारायणघाट–बुटबल सडक खण्डअन्तर्गत दाउन्नेको सडक रोकिएका मालवाहक सवारी साधन । तस्बिर : बोमलाल गिरी

नवलपुर, असार ८ गते । नारायणघाट–बुटबल सडक खण्डअन्तर्गत दाउन्नेको सडक बन्द हुँदा ६ दिनदेखि मालवाहक सवारी साधन सडकमै रोकिएका छन् । नवलपुरको विनयी खोलाको बाढी र दाउन्नेमा बाटो चिप्लो भएका कारण माल बाहक सवारी साधन ६ दिनदेखि सडकमै रोकिएका हुन् ।

काठमाडौँबाट मालवाहक सामान लिएर नेपालगञ्ज जाँदै गरेको ट्रकका चालक राजेश विकले ६ दिनदेखि सडकमै गाडी रोकेर बस्नु परेको बाध्यता सुनाउनुभयो । ‘‘तीन दिनसम्म जङ्गलको बिचमा गाडीमै सुत्दा चर्को गर्मीको रापले सुत्नै सकिएन, अनि खानलाई पनि समस्या भयो,’’ आरुङखोला बजारमा भेटिएका विकले भन्नुभयो, ‘‘अहिले भने बजार क्षेत्रमा आएकाले खानलाई समस्या छैन, गन्तव्यमा त कहिले पुगिन्छ भन्न सकिन्न ।’’

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक जनक बन्जराले पाँच छ दिनदेखि गाडीहरु सडकमै ‘होल्ड’ गरेर राखेको जानकारी दिनुभयो ।

‘‘लामो समयदेखि जाममा रहेका केही गाडीहरु जहाँबाट आएको हो उतै फर्केका छन्, केही अझै सडकमै छन्,’’ प्रहरी निरीक्षक बन्जराले भन्नुभयो, ‘‘साँघुरो ठाउँमा रहेका गाडीहरुलाई फराकिलो ठाउँमा लगेर राख्ने काम भएको छ, जङ्गलमा रहेका गाडीहरुलाई खान बस्न सजिलो होस् भनेर बजार क्षेत्रमा लगेर होल्ड गरेका छौं ।’’

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका सवारी साधन विनयी खोलाका कारण रोकिएका छन् भने पश्चिमबाट पूर्वतर्फ हिँडेका सवारी दाउन्नेको पहाडमा रोकिएका छन् । ८ पटकसम्म बगाउपछि दुम्किवासको विनयी खोलामा अब डाइभर्सन निर्माण नगरिने भएको छ भने  दाउन्नेको सडक मर्मत गर्नका लागि गाडी आवतजावत गर्न प्रतिबन्ध लगाइएको छ ।

विनयी खोलामा डाइभर्सन नहुँदा साना तथा हलुका सवारी साधन होङ्सी सिमेन्ट हुँदै झण्डै २८ किलो मिटर घुमेर दिउँसोको समयमा पार गर्न दिइए पनि साँझ ७ देखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारी साधन आवागमनमा अर्को सूचना जारी नहुँदासम्मका लागि पूर्ण प्रतिबन्ध लगाइएको छ ।

गत पुस २६ गते दुम्किवासस्थित विनयी खोलाको पुल भाँचिएपछि डाइभर्सनमार्फत यातायात सञ्चालन गरिँदै आएकोमा खोलामा आउने बाढीले बगाउन थालेपछि अब डाइभर्सन निर्माण नगरिने प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताउनुभयो । गत बिहीबार राति विनयी खोलामा डाइभर्सनबाट जाँदै गरेको बस नै खोलाले बगाएको थियो ।  

Author
बोमलाल गिरी

गिरी गोरखापत्रका लागि नवलपुर समाचारदाता हुनुहुन्छ ।