नवलपुर, असार १४ गते । “म स्कुलबाट घर जानेबित्तिकै ‘ड्रेस’ नखोली, हातमुख पनि नधोई पाएसम्म मोबाइल हेर्थें, नभए टिभी हेर्न थाल्थेँ तर अहिले घर जानेबित्तिकै लुगा फेर्छु, हातमुख धुन्छु । ममीले जे खाजा तयार गरिदिनुभएको छ, त्यो खान्छु । अहिले मलाई रिस उठ्न पनि छोडेको छ ।” नवलपुरको मध्यविन्दु नगरपालिकास्थित जनता माध्यमिक विद्यालयको कक्षा २ मा अध्ययनरत सात वर्षीय क्रिस्टिना बस्नेतको भनाइ हो । क्रिस्टिना जस्तै घरमा आमाबुवालाई सक्दो काममा सघाउने, आमा बिरामी भएको बेला भाँडा माझेर, पानी भरेर, तरकारी केलाएर सहयोग गर्ने, साथीभाइसँग झगडा नगर्ने, मिलेर बस्ने, तपाईं हजुर भनेर सम्बोधन गर्ने, गुरुहरूलाई आदर गर्ने बानी बसेको छ । सोही विद्यालयको कक्षा ६ मा अध्ययनरत एन्जिला विकमा पनि ।
यहाँ कक्षा १ देखि ८ सम्म अध्ययनरत प्रायः सबै विद्यार्थीमा यस्तै सकारात्मक परिवर्तन देखिएको छ । नेपालमै पहिलो पटक नवलपुरको मध्यविन्दु नगरपालिकाले विद्यार्थी, अभिभावक र शिक्षकलाई ध्यानमा राखी ‘हाम्रो खुसी’ (आवर हेप्पिनेस) पाठ्यक्रम सञ्चालन गरेपछि देखिएको परिवर्तन हो यो । कक्षा ६ मा अध्ययनरत रश्मि विक यो पाठ्यक्रम लागु भएपछि आफू वृक्षरोपण गर्न, अक्षर राम्रो लेख्न, ध्यान केन्द्रित गर्न र साथीभाइसँग मिलेर बस्न सिकेको बताउनुहुन्छ ।
गत शैक्षिक सत्रदेखि सुरु भएको यो पाठ्यक्रमले विद्यार्थीबिच मेलमिलाप बढेको, साथीभाइमा खाजा बाँडेर खाने, झगडा गरेर छुट्टाछुट्टै बेन्चमा बस्नेहरू पनि अहिले सँगै बस्न थालेको, पानीको धारा खुल्लै हुँदा कसैले नभनी आफैँ बन्द गर्ने गरेको बताउनुहुन्छ, जनता माध्यमिक विद्यालयका खुसी स्रोतशिक्षक विष्णु थापा कार्की ।
पत्रु खाना र मोबाइलको लत हट्यो
अहिले हरेक अभिभावकका लागि सबैभन्दा चिन्ताको विषय बनेको छ मोबाइल र जङ्क फुड (पत्रु खाना) को लत छुटाउनु । धेरै बालबालिकाको खाना खाने बेलामा मोबाइल हेर्ने, जसले गर्दा खानाको स्वाद र चिसो भएको पनि थाहा नपाउने बानी बसिसकेको छ तर ‘हाम्रो खुसी’ पाठ्यक्रम लागु भएपछि यहाँका प्रायः सबै बालबालिकामा चाहिनेभन्दा बढी मोबाइल हेर्ने र पत्रु खाना खाने बानीप्रति सचेत हुन थालेका छन् । यो बदलिएको बानीले अभिभावक पनि निकै खुसी भएका छन् ।
“पहिले मोबाइल पाए फोन आउँदा पनि दिँदैनथ्यो, अहिले म आफैँलाई धेरै मोबाइल हेर्न हुन्न भनेर सम्झाउँछ,” कक्षा ६ मा अध्ययनरत समीर विककी आमा रश्मिले भन्नुभयो, “त्यस्तै मेरो बाबुमा देखिएको सबैभन्दा खुसीलाग्दो बानी भनेको पत्रु खाना खान हुन्न भन्ने चेत विकास भएको छ ।”
त्यस्तै लिटिल स्टेप बोर्डिङ स्कुलमा कक्षा ५ मा अध्ययनरत विद्यार्थीकी आमा चन्दु कुमालले आफ्नो छोराले आफूलाई पनि धेरै मोबाइल हेर्न हुन्न भनेर सम्झाउने गरेको सुनाउनुभयो । अर्की अभिभावक नीरमाया दराईले आफ्नो छोरामा आएको परिवर्तन देखेर आफू सबैभन्दा बढी खुसी भएको बताउनुभयो । “अघिल्लो दिन ममी तपार्इंलाई कालो कलम मन पर्छ कि निलो भनेर सोध्यो, मैले कालो भनेर जवाफ दिएँ, किन सोधेको होला भनेको त भोलिपल्ट बिहानै ‘ममी ह्याप्पी मदर्स डे’ भनेर तीन वटा कलम उपहार दियो, नीरमायाले खुसी व्यक्त गर्नुभयो, “खाजा खान भनेर लगेको पैसा बचत गरेर मलाई नै उपहार दियो ।”
शिक्षकमा पनि परिवर्तन
नगरपालिकाभित्र रहेका सामुदायिक र निजी गरी ६४ वटा विद्यालयमा लागु भएको ‘हाम्रो खुसी’ पाठ्यक्रमले विद्यार्थी र अभिभावकमा मात्र होइन स्वयं शिक्षकमा पनि सकारात्मक परिवर्तन देखिएको छ ।
जनता माविका खुसी स्रोत शिक्षक विष्णु थापा कार्की भन्नुहुन्छ, “पहिले विद्यार्थीहरू बढी हल्ला गर्दा रिसाउने, कहिलेकाहीँ पिट्ने पनि गरिन्थ्यो, अहिले धेरै कुरा सिकेकी छु, रिस कम भएको छ, बालबालिकासँग खुसी भएर, हाँसेर, माया गरेर बोल्ने बानी परेको छ ।”
लिटिल स्टेप एकेडेमीका प्रिन्सिपल प्रमिला थापा शिक्षक र अभिभावकमा परिवर्तन नआई बालबालिकामा परिवर्तन आउन सम्भव नभएकाले पहिले शिक्षकमा नै परिवर्तन हुनुपर्ने र त्यो भएको बताउनुहुन्छ । अध्यापनका लागि हरेक दिनका लागि छुट्टाछुट्टै पाठ्यक्रम तयार पारिएको छ । हरेक कक्षाको सुरुवाती ३० मिनेट ‘हाम्रो खुसी’ पाठ्यक्रमबाट कक्षा सञ्चालन गरिन्छ । सुरुमा तीन मिनेट ध्यान गराइन्छ । सबै बालबालिकालाई तपार्इं भनेर सम्बोधन गरिन्छ । यो पाठ्यक्रमको गत वर्ष भदौ ८ गते तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईले शुभारम्भ गर्नुभएको थियो । विद्यार्थीमा संवेदनशील भावनाको विकास र पारिवारिक सम्बन्ध विस्तारका लागि यो पाठ्यक्रम कोसेढुङ्गा साबित भएको नगरपालिकाको विश्वास छ । नगरप्रमुख भीमलाल अधिकारीले यो पाठ्यक्रम सफल भइसकेकाले जिल्लाका सबै पालिका र देशव्यापी रूपमा अवलम्बन गर्न आवश्यक रहेको बताउनुभयो ।