• ३१ वैशाख २०८३, बिहिबार

डुङ्गामा ढुङ्गा तारेर सुस्ता बचाइँदै

blog

ढुङ्गाबाट तटबन्ध निर्माणको सामग्री तारिँदै ।

नवलपुर, वैशाख ३१ गते । नवलपरासीको सुस्ता गाउँपालिका–५ को बस्तीमा नारायणी नदी पसेर हरेक वर्ष डुबान गर्न थालेपछि तटबन्ध निर्माणको कामलाई तीव्रता दिइएको छ । नयाँ, सस्तो र भरपर्दो आरसिसी ‘प्रोकोपाइन’ प्रविधिबाट तटबन्ध निर्माणलाई तीव्रता दिइएको हो । 

नदीको बहाब हुने अघिल्लो भागमा 

‘प्रोकोपाइन’ लगाइए पनि पछिल्लो भागमा ढुङ्गाको पर्खाल लगाएर तटबन्ध निर्माण गरिँदै छ । त्यसका लागि झन्डै १० हजार घनमिटर ढुङ्गा चाहिने आयोजनाको अनुमान छ । नारायणीको बगरमा बालुवा मात्र भएकाले ढुङ्गा खोज्न निकै समस्या भएको आयोजना प्रमुख डा. नारायणप्रसाद सुवेदीले बताउनुभयो ।

“चार/पाँच किलोमिटर टाढासम्म पुगेर बालुवा पन्छाउँदै एक/एक वटा ढुङ्गा सङ्कलन गर्नुपर्दा निकै समय लाग्ने गरेको छ,” सुवेदीले भन्नुभयो, “यसरी सङ्कलन गरेर थुपारिएका ढुङ्गा ट्याक्टरबाट नदी किनारसम्म ल्याई डुङ्गामा हालेर नदी पार गराउनु परेको छ ।”

पुलबाट ट्याक्टर पार नहुने र भारतले आफ्नो भूमि भएर ट्याक्टर, ट्रक आउजाउ गर्न नदिने भएकाले डुङ्गामा ढुङ्गा हालेर पार गराउनुको विकल्प नभएको आयोजनाका इन्जिनियर बेलबहादुर विकले बताउनुभयो । 

अहिले सुस्ता पुलबाट पूर्वतर्फ झन्डै नौ सय मिटरको क्षेत्रफलमा नदी नियन्त्रण तथा व्यवस्थापनको काम भइरहेको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भरतपुरका प्रमुख डा. सुवेदीले जानकारी दिनुभयो । हरेक वर्ष नारायणी बस्तीमा पसेर सुस्ता नै जोखिममा पर्न थालेपछि नदी नियन्त्रण तथा व्यवस्थापन गर्न थालिएको हो । 

के हो ‘प्रोकोपाइन’ प्रविधि

यो नदीकिनारको तटबन्ध जोगाउन र बाढी नियन्त्रण गर्न प्रयोग गरिने एक प्रभावकारी र कम लागतको प्रविधि हो । यसमा बालुवा, गिट्टी, सिमेन्ट र रडको प्रयोग गरेर तीन वटा पिल्लरलाई त्रिभुज आकारमा नटबोल्टले कसेर बनाइन्छ, जसले नदीको बहावलाई अन्यत्र मोडी कटान नियन्त्रण गर्छ ।

“तीन मिटर र पाँच मिटर लम्बाइ तथा १० सेन्टिमिटर चौडाइ भएका छ वटा सिमेन्टका पोललाई जोडेर एउटा त्रिभुज आकारको संरचना तयार गरिन्छ र बाहिरी भागमा फलामका जाली राखिन्छ । त्यसलाई तीन तह बनाएर नदीको १५ मिटर अगाडिसम्म र छ मिटर गहिराइमा राखिन्छ,” आयोजनाका इन्जिनियर बेलबहादुर विकले भन्नुभयो, “यसले नदीले बगाएर ल्याएका रुख, घाँस, पातपतिङ्गरलाई रोक्छ र नदीको बहाब परिवर्तन गराउँछ ।” यहाँ नदीको गहिराइ बढी भएकाले त्यहाँ ग्याबिनको जाली हालेर वा अन्य प्रविधि अपनाएर काम गर्न नसकिने भएकाले ‘प्रोकोपाइन’ विधि अपनाइएको उहाँको भनाइ छ । 

नदीको तल्लो तह र माथिल्लो तहमा तटबन्ध निर्माणका लागि चितवन र पोखराका दुई वटा कम्पनीले ठेक्का लिएर काम गरिरहेका हुन् । तल्लो तहमा तटबन्ध बनाउन केडी कन्स्ट्रक्सन पोखराले चार करोड ६६ लाख ६६ हजार ३९३ रुपियाँ र माथिल्लो मागका लागि शिवम् कन्स्ट्रक्सन जेभी प्रालि चितवनले सात करोड १७ लाख ४१ हजार ७२६ रुपियाँमा ठेक्का पाएका हुन् ।

विसं २०८२ चैत १ देखि सुरु भएको काम दुबव कम्पनीले आगामी असार २२ भित्र सम्पन्न गर्नुपर्ने सम्झौता छ । सम्झौता अनुसार नै तीव्र गतिमा काम भइरहेको आयोजना प्रमुख डा. सुवेदीले बताउनुभयो । “हामीसँग निकै थोरै समय थियो, थोरै समयमा पनि हामीले जति गर्न सक्थ्यौँ, त्योभन्दा बढी काम भइरहेको छ, हाम्रा प्राविधिक चौबिसै घण्टा खटिएकाले यो सम्भव भएको हो,” उहाँले भन्नुभयो । 

पहिलो चरणमा सुस्ताको अत्यधिक जोखिम भएको क्षेत्रमा नियन्त्रणको प्रयास गरिएको छ । यहाँ नदी व्यवस्थापन गर्न नसकेमा समग्र सुस्ताकै भविष्य नरहने भन्दै सरकारले तटबन्ध निर्माणको काममा तीव्रता दिएको सुवेदीले बताउनुभयो । गत वर्ष नारायणी नदीको बाढी बस्तीमा पसेर ऐतिहासिक भूमि सुस्तामा जोखिम निम्त्याएपछि कटान गरेको झन्डै नौ सय मिटर क्षेत्रमा नदी नियन्त्रण तथा व्यवस्थापनको काम भइरहेको छ । 


Author
बोमलाल गिरी

गिरी गोरखापत्रका लागि नवलपुर समाचारदाता हुनुहुन्छ ।