अमरराज नहर्की
तनहुँ, वैशाख ३१ गते । यस वर्ष सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा तनहुँ जिल्लाका तीनवटा विद्यालयको नतिजा शून्य आएको छ । शिक्षा विकास तथा समन्वय इकाई तनहुँका प्रमुख कृष्णप्रसाद श्रेष्ठका अनुसार जिल्लाका दुई सामुदायिक र एक संस्थागत विद्यालयबाट परीक्षामा सामेल भएका कुनै पनि परीक्षार्थी उत्तीर्ण हुन सकेनन् ।
बन्दीपुर गाउँपालिकाका दुईवटा विद्यालयको नतिजा शून्य रहेको छ । सामुदायिकतर्फको अरुण माध्यमिक विद्यालयबाट परीक्षा दिएका तीन जना र संस्थागततर्फको दिपशिखा माध्यमिक विद्यालयबाट परीक्षा दिएका पाँच जना विद्यार्थीमध्ये सबै अनुत्तीर्ण भएका छन् ।
यसैगरी, ऋषिङ गाउँपालिकाको एक विद्यालयको नतिजा पनि शून्य आएको छ । वडा नम्बर ५ स्थित जयदुर्गा माध्यमिक विद्यालयबाट परीक्षामा सहभागी भएका ४ जना विद्यार्थीमध्ये कोही पनि उत्तीर्ण हुन सकेनन् । जिल्लाभरको समग्र नतिजा हेर्दा तनहुँमा यस वर्ष ६५.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाईका अनुसार जिल्लाबाट परीक्षामा सहभागी भएका कुल चार हजार ९४० विद्यार्थीमध्ये तीन हजार २४८ जना विद्यार्थीले सफलता प्राप्त गरेका छन् । अघिल्लो वर्ष जिल्लाका १३ सामुदायिक विद्यालयको नतिजा शून्य आएको तुलनामा यस वर्ष शून्य नतिजा आउने विद्यालयको सङ्ख्यामा भने उल्लेख्य कमी देखिएको इकाईले जनाएको छ ।