रमेश विश्वकर्मा
गुल्मी, वैशाख ३१ गते। गुल्मीको इस्मा गाउँपालिकाले दुई छुट्टाछुट्टै वडामा महिलाका लागि निःशुल्क पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ शिविर सञ्चालन गर्दैछ। बिहीबार यस गाउँपालिकाको वडा नम्बर १ हस्तिचौरस्थित हस्तिचौर स्वास्थ्य चौकीमा निःशुल्क पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ शिविर सञ्चालन हुँदैछ।
स्थानीय महिलाहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै शिविरको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका सूचना अधिकारी नारायण महतका अनुसार भोलि (शुक्रबार) दोहोलीस्थित दोहोली स्वास्थ्य चौकीमा पनि यो शिविर सञ्चालन गरिनेछ। शिविरमा महिलाहरुको लागि पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ (भीआईए) प्रदान गरिनेछ। त्यसैगरी पाठेघर खसेका महिलाहरूका लागि निःशुल्क ‘रिङ पेसरी सेवा र स्त्री रोग विशेषज्ञ डाक्टरद्वारा निःशुल्क स्वास्थ्य परीक्षण गरिने बताइएको छ।
ग्रामीण भेगका महिलाहरूमा देखिने स्वास्थ्य समस्यालाई समयमै पहिचान गरी उपचारमा सहयोग पुर्याउने उद्देश्यसहित शिविर सञ्चालन गरिएको हो। ३० वर्षदेखि ६५ वर्ष उमेर समूहका महिलाहरूलाई लक्षित गरी यो कार्यक्रम सञ्चालन गरिएको छ। अकालमै हुने मृत्यु र गम्भीर स्वास्थ्य जटिलताबाट बच्नका लागि तोकिएको उमेर समूहका सबै महिलाहरूले सेवा लिन गाउँपालिकाले आग्रह गरेको छ।