मकवानपुर समाचारदाता
मकवानपुर, वैशाख ३१ गते । प्रदेश सरकारले निर्धारण गरेको भाडादरविपरीत सार्वजनिक यातायातका सञ्चालकले यात्रुसँग भाडा उठाउँदै आएको पाइएको छ । सार्वजनिक यातायातको भाडादर निर्धारण भए अनुसार कार्यान्वयन नभएको पाइएपछि बागमती प्रदेश सभाको सार्वजनिक लेखा समितिले नियमन गर्न प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।
प्रदेश सरकारले निर्धारण गरेको भाडादर अनुरूप कार्यान्वयन नभएको पाइएको भन्दै लेखा समितिले सार्वजनिक सूचना पाटी राखी र नियमन गर्न मन्त्रालयलाई निर्देशन दिएको हो । समितिका सभापति श्रीराम लामिछानेले निर्धारण गरिएको भाडादर कार्यान्वयन गर्न श्रम, रोजगार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको बताउनुभयो । सेवाग्राही नठगिने वातावरण तयार गर्नुपर्ने दायित्व सम्बन्धित मन्त्रालयको हो, उहाँले भन्नुभयो ।
समितिको प्रदेश सभा सचिवालयमा बसेको बैठकमा प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयबारे महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदनले औँल्याएका बेरुजु सम्बन्धमा र समितिमा प्राप्त उजुरीमाथि छलफल गरिएको छ । समिति सभापति लामिछानेले प्रदेश सरकारले सवारीचालक अनुमतिपत्र छपाइ गर्ने मेसिन खरिद गरी सञ्चालन नगरेको पाइएकाले उक्त खरिद भएको मेसिन सञ्चालनको सुनिश्चित गर्न मन्त्रालयलाई निर्देशन दिएको बताउनुभयो ।
सवारीचालक अनुमतिपत्र छपाइ गर्ने मेसिन खरिद भइसकेको र यातायात क्षेत्र प्रदेशको एकल अधिकार क्षेत्रसमेत भएको बताउनुभयो । सङ्घीय सरकारसँग समन्वय गरी खरिद भएको मेसिन सञ्चालनको सुनिश्चित गर्न दुई महिनाभित्र आवश्यक कार्य गरी समितिमा प्रतिवेदन पेस गर्न बागमती प्रदेश सरकार र मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको जानकारी दिनुभयो । बैठकले यातायात क्षेत्रबाट प्रवाह हुने सेवा प्रवाहलाई सहज, चुस्त र पारदर्शी बनाउन भनेको छ । ट्रायल सेन्टर सम्बन्धमा उजुरी आइरहेको भन्दै पर्याप्त ट्रायल सेन्टर आवश्यक प्रक्रिया पूरा गर्न भनिएको छ । यसै गरी उपत्यकाभित्र र बाहिर छ महिनाभित्र सेवा विस्तार गर्न बागमती प्रदेश सरकारलाई निर्देशन दिने निर्णय गरेको छ ।
बैठकले विद्युतीय सवारीसाधनको चार्जिङ स्टेसन सञ्चालनको सुनिश्चित गरी सेवा प्रवाह गर्न मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको समिति सभापति लामिछानेले बताउनुभयो ।