भैरहवा समाचारदाता
भैरहवा, वैशाख ३१ गते । रुपन्देहीको सीमानाकाबाट हुने तस्करीको जालो अझै रोकिन सकेको छैन । प्रहरीले दैनिक जसो तस्करीका अवैध सामान बरामद गर्दै आएको छ ।
भारतसँग खुला सीमा जोडिएको रुपन्देहीमा अवैध चोरीपैठारी तथा भन्सार छलीका गतिविधि बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले निगरानी कडा बनाएको छ । यही क्रममा प्रहरीले जिल्लाका विभिन्न स्थानमा चेकजाँचलाई तीव्रता दिँदै एक सातामा दुई करोड रुपियाँभन्दा बढी मूल्यका अवैध सामान नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार र मङ्गलबार मात्रै जिल्लाका विभिन्न नाका, बजार क्षेत्र तथा सीमावर्ती गाउँमा गरिएको विशेष चेकजाँचमा भन्सार छली गरी नेपाल भित्र्याइएका करिब २७ लाख रुपियाँ बराबरका सामान बरामद गरिएको हो । बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय बेलहिया तथा भन्सार कार्यालय बेलहियामा पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले सिद्धार्थनगर, मायादेवी, रोहिणी, सियारी, गडाहवा, कोटहीमाई तथा बुटवल क्षेत्रबाट कपडा, कस्मेटिक सामग्री, किराना सामान, ब्रोइलर कुखुरा, केरालगायत दैनिक उपभोग्य वस्तु नियन्त्रणमा लिएको छ । सीमावर्ती क्षेत्रमा साना साना समूहमार्फत सामान ओसारपसार गर्ने प्रवृत्ति बढ्दै गएको प्रहरीको निष्कर्ष छ ।
सबैभन्दा बढी मूल्यको सामान रोहिणी गाउँपालिका–७, टिकर क्षेत्रबाट बरामद भएको प्रहरीले जनाएको छ । उक्त स्थानबाट करिब पाँच लाख ९५ हजार रुपियाँ बराबरका माला, कानबाली, टप, हार, ब्रासलेट तथा प्याकिङ प्लास्टिक बरामद गरिएको छ । त्यसै गरी मेउडिहवा क्षेत्रबाट दुई लाखभन्दा बढी मूल्यका कस्मेटिक सामग्री, केरालगायत दैनिक उपभोग्य सामान नियन्त्रणमा लिइएको प्रहरीले
जनाएको छ । प्रहरीले कपडा तथा फेन्सी सामग्रीको अवैध आयात अत्यधिक रहेको जनाएको छ । सिद्धार्थनगरका विभिन्न स्थानबाट लेडिज सुट, साडी, कुर्ता, टिसर्ट, लुङ्गी, स्यान्डल, कस्मेटिक सामग्री र सजावटका सामान बरामद गरिएको छ । कतिपय सामान मोटरसाइकल प्रयोग गरी सीमाबाट भित्र्याइएको पाइएको प्रहरीको भनाइ छ ।
मायादेवी गाउँपालिका र सियारी क्षेत्रमा भने मोटरसाइकलमा राखेर ल्याइँदै गरेका ब्रोइलर कुखुरा नियन्त्रणमा लिइएको छ । प्रहरीले दुई वटा मोटरसाइकलसहित दर्जनौँ ब्रोइलर कुखुरा बरामद गरेको जनाएको छ । खुला सीमाको फाइदा उठाउँदै पशुजन्य वस्तु अवैध रूपमा भित्र्याउने क्रम बढेको भन्दै प्रहरीले यसले स्वास्थ्य तथा राजस्व दुवै क्षेत्रमा असर पार्ने जनाएको छ ।