नेत्र शाही
जुम्ला, वैशाख ३१ गते । चन्दननाथ नगरपालिका–५ निवासी अम्बिका श्रेष्ठले पहिले घरेलु तथा साना उद्योगमार्फत सिलाइकटाइ तालिम लिएपछि जीविकोपार्जनको उपाय खोजिरहनुभएको थियो । सोही समयमा तत्कालीन शिप विकास कार्यालयले उहाँलाई प्रशिक्षकको अवसर दिएको थियो । तर कार्यालय खारेज भएपछि उहाँको नोकरीसमेत गुम्यो ।
स्वरोजगारको अवसर गुमेपछि केही वर्ष उहाँ मानसिक तनावमा रहनुभयो । त्यसपछि उहाँले सानो टेलरिङ पसल सञ्चालन गर्नुभयो । तर त्यतिमा मात्र सन्तुष्ट नहुँदै जीवनमा सिकेको सीपलाई विस्तार गर्ने सोच र साहस विकास भयो ।
त्यतिबेला जुम्लामा लामो समय लोडसेडिङ र विद्युत् आपूर्तिको समस्या थियो । पछि चुकेनी जलविद्युत आयोजना मार्फत ९९८ किलोवाट विद्युत् उत्पादन भएपछि सदरमुकाममा नियमित विद्युत् आपूर्ति हुन थाल्यो । त्यसपछि अम्बिकामा गार्मेन्ट उद्योग सञ्चालन गर्ने आत्मविश्वास बढ्यो ।
सुरुमा दुई वटा विद्युत् सिलाइ मेसिनबाट आफ्नै घरमा काम सुरु गर्नुभएकी उहाँ अहिले जुम्लाकै पहिलो हिमालयन गार्मेन्ट उद्योग की सञ्चालकका रूपमा स्थापित हुनुभएको छ । उहाँको वार्षिक आम्दानी ५० लाख रुपियाँभन्दा बढी पुगेको छ ।
विद्युत् मेसिनबाट गार्मेन्ट सञ्चालन
हाल उहाँले १२ वटा विद्युत् सिलाइ मेसिन प्रयोग गरी गार्मेन्ट सञ्चालन गरिरहनुभएको छ । यो जुम्लामा विद्युत् आपूर्तिपछि सञ्चालनमा आएको पहिलो गार्मेन्ट उद्योग मानिन्छ । यहाँ विद्यालयका पोसाकदेखि विभिन्न कपडाको सिलाइ–कटाइ काम हुँदै आएको छ ।
उद्योगबाट १० जना महिलाले प्रत्यक्ष रोजगारी पाएका छन् । उनीहरूलाई कामको आधारमा पारिश्रमिक दिइने गरिएको छ । गार्मेन्ट सञ्चालनपछि सदरमुकाममा घडेरी खरिद गर्न सफल हुनुभएकी उहाँले थप १२ लाख रुपैयाँ लगानी गरेर उद्योगलाई विस्तार पनि गर्नुभएको छ ।
अम्बिका स्वयं अपाङ्गता (श्रवण समस्या) भएको व्यक्ति हुनुहुन्छ । उद्योग सञ्चालनमा उहाँलाई छोरा सरोजले व्यवस्थापन, हिसाब–किताब र अर्डर सम्हाल्ने काममा सहयोग गर्दै आउनुभएको छ ।
वाशिङ मेसिनबाट थप आम्दानी
उद्योगको काम राम्रो भएपछि विभिन्न निकायबाट सहयोग पनि प्राप्त भएको छ । हाल उहाँलाई एक विद्युत् सिलाइ मेसिन र वाशिङ मेसिन अनुदानमा उपलब्ध गराइएको छ ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रअन्तर्गतको ग्रामीण जीविकोपार्जनका लागि नवीकरणीय ऊर्जा कार्यक्रमबाट करिब ८ लाख रुपियाँ लागतको कपडा धुने मेसिनमा ५ लाख रुपैयाँ अनुदान प्राप्त भएको उहाँले बताउनुभयो । उक्त मेसिन जडान भएको तीन महिनामै मासिक करिब दुई लाख २५ हजार रुपैयाँ आम्दानी हुन थालेको छ ।
यसबाट थप दुई जना महिलाले रोजगारी पाएका छन् । साथै सोही कार्यक्रमअन्तर्गत ५० हजार रुपियाँ बराबरको विद्युत् सिलाइ मेसिन पनि सहयोग गरिएको छ ।
चन्दननाथ नगरपालिका–९ का वडाध्यक्ष बिर्खबहादुर कार्कीले अम्बिकाको मेहनत र साहसले अन्य महिलालाई पनि स्वरोजगारतर्फ प्रेरित गरेको बताउनुभयो ।
कार्यक्रम संयोजक पृथ्वीबहादुर शाहीका अनुसार जुम्लाका २४ जना महिलालाई पनि विद्युत् सिलाइ मेसिन उपलब्ध गराइएको छ । उनीहरूले तालिम लिएर सोही गार्मेन्टमा वा आफ्नै रूपमा काम गरिरहेका छन् । जुम्लामा विद्युत् आपूर्तिमा सुधार भएसँगै उद्योग सञ्चालनमा सहजता आएको र अम्बिका जस्ता उद्यमीहरूका लागि नयाँ अवसर सिर्जना भएको बताइएको छ ।