धीरेन्द्रप्रसाद साह
राजविराज, वैशाख ३१ गते । सप्तरी जिल्ला प्रहरीले विभिन्न तीन वटा मुद्दामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामाथि अभद्र व्यवहार, आत्महत्या दुरुत्साहन तथा लागुऔषधसम्बन्धी मुद्दाका आरोप रहेको प्रहरीले जनाएको छ ।
अभद्र व्यवहार मुद्दामा राजविराज नगरपालिका–६ निवासी ४३ वर्षीय फिरोजलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उहाँले २०८३ वैशाख ९ गते राजविराज–७ स्थित एक सिटी सप अगाडि चप्पल–बक्सामाथि मोटरसाइकल चढाएको विषयमा विवाद हुँदा गालीगलौज तथा कुटपिट गरेको आरोप छ । घटना पछि फरार रहेका उहाँलाई राजविराज–६ स्थित राम मन्दिर अगाडिबाट पक्राउ गरिएको हो । जिल्ला प्रशासन कार्यालय सप्तरीबाट छ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै आत्महत्या दुरुत्साहन मुद्दामा गणेशमान चारनाथ नगरपालिका–८ निवासी २३ वर्षीय अमितकुमार यादव पक्राउ पर्नुभएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार २०८२ चैत १४ गते तिलाठी कोइलाडी गाउँपालिका–४ निवासी मनिषाकुमारी मण्डलले विषादी सेवन गरेपछि उपचारका क्रममा सोही दिन उहाँको मृत्यु भएको थियो ।
यादवले टिकटक लाइभमार्फत अश्लील तथा अपमानजनक गालीगलौज गरेको भिडियो सार्वजनिक गरेको कारण मानसिक तनावमा परी मण्डलले विषादी सेवन गरेको भन्दै चन्दनकुमार मण्डल धानुकले जाहेरी दिनुभएको थियो । सोही आधारमा मुद्दा दर्ता गरी यादवलाई गणेशमान चारनाथबाट पक्राउ गरिएको हो । सप्तरी जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी लागुऔषध मुद्दामा कञ्चनरुप नगरपालिका–९ निवासी ३१ वर्षीया मनिरेखा कुमारी यादवलाई पक्राउ गरिएको छ । उहँँको साथबाट ३.३२ ग्राम ब्राउन सुगर र १६२.२ ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । उहाँलाई सप्तरी जिल्ला अदालतबाट छ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।