प्रवीण कुमार शर्मा
चन्द्रपुर (रौतहट), वैशाख ३१ गते । रौतहट जिल्लाका विभिन्न बजारमा अनियन्त्रित मूल्यवृद्धिका कारण उपभोक्ता ठगिँदै आएको गुनासो बढेको छ । गौर, गरुडा, कटहरिया, गङ्गापिपरा, समनपुरलगायत बजारमा सामानको मूल्य एकाएक बढेको स्थानीयले बताएका छन् ।
गौर नगरपालिका–७ का दिलीपकुमार पाण्डेले व्यापारीहरूले खाद्यान्न, कपडा लगायतका सामग्रीमा २० देखि ३० प्रतिशतसम्म बढी मूल्य असुलिरहेको गुनासो गर्नुभयो ।
गरुडा–५ बाट गौर बजार किनमेल गर्न आउनुभएकी सुनिता जयसवालले पसलपिच्छे मनपरी मूल्य लिइएको बताउनुभयो । पसलमा मूल्यसूची नराखिएको र सरसामग्रीमा आफुखुसी मूल्य निर्धारण गरेर महँगो बनाइएको उहाँको भनाइ छ । उहाँका अनुसार अचानक बढेको बजार मूल्यले न्यून आय भएका परिवार सबैभन्दा बढी प्रभावित भएका छन् ।
जिल्लाभर बजार अनुगमन प्रभावकारी रूपमा हुन नसक्दा उपभोक्ता ठगिने क्रम बढेको स्थानीयको गुनासो छ । बजार अनुगमन समितिमा संयोजकको भूमिकामा रहने सहायक प्रमुख जिल्ला अधिकारी सक्रिय नहुँदा चालु आर्थिक वर्षमा अनुगमन न्यून भएको बताइएको छ ।
बिगतमा अनुगमन भए पनि जिल्ला प्रशासनले औपचारिकताका लागि मात्र गरेको उपभोक्ताको आरोप छ । सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादव सक्रिय नदेखिएको भन्दै जिल्ला प्रशासन कार्यालयभित्रै असन्तोष रहेको कर्मचारीहरूले बताएका छन् ।
स्थानीय तहहरूले पनि बजार अनुगमनमा चासो नदेखाएको आरोप छ । विकास बजेट खर्चमा मात्र ध्यान केन्द्रित हुँदा आम नागरिक ठगिनु परेको दुर्गा भगवती गाउँपालिका–३ की माही श्रीवास्तवले बताउनुभयो ।
बजार अनुगमनको जिम्मेवारी स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, गुणस्तर तथा नापतौल कार्यालयलगायत निकायको भए पनि नियमित अनुगमन नहुँदा बेथिति बढेको चन्द्रपुर नगरपालिका–५ की पूजा झाले बताउनुभयो ।
पसलमा मूल्यसूची नहुनु र उपभोक्तालाई बिल नदिने समस्या वर्षौंदेखि रहँदै आएको छ ।
संघीय सरकारले सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’ सञ्चालन गर्ने घोषणा गरे पनि रौतहटमा त्यसको प्रभाव नपरेको सहायक प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयले मासिक एकपटक बजार अनुगमन गर्ने योजना बनाएको भए पनि कहिलेकाहीँ वर्षभरका अनुगमन एकैपटक गर्ने गरिएको कर्मचारीहरूले बताएका छन् । गौर, गरुडा र चन्द्रनिगाहपुरमा मात्र अनुगमन सीमित भएको गुनासो छ ।
घरेलु तथा साना उद्योग कार्यालय रौतहटका प्रमुख रिंकीकुमारी जयसवालका अनुसार चालु आर्थिक वर्षमा बजार अनुगमनका लागि ४४ हजार रुपियाँ मात्र बजेट विनियोजन भएको र हालै मात्र सो रकम उपलब्ध भएकाले अनुगमन गर्न नसकिएको हो ।
रौतहट र सर्लाही कार्यक्षेत्र रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सर्लाहीका निमित्त प्रमुख दिनेश ढुंगानाले कर्मचारी अभावका कारण अनुगमन प्रभावित भएको बताउनुभयो ।
गुणस्तर तथा नापतौल कार्यालय वीरगन्जका निरीक्षक हरिभजन त्रिपाठीका अनुसार मुख्य जिम्मेवारी जिल्ला प्रशासन कार्यालयको भए पनि सक्रियता नहुँदा अनुगमन प्रभावकारी बन्न सकेको छैन ।
रौतहट उद्योग वाणिज्य संघ का अध्यक्ष रविन्द्रनाथ गोपालीले अनुगमनमा सहकार्य गर्न निजी क्षेत्र तयार रहेको बताउनुभयो । सम्बन्धित निकाय सक्रिय नभएसम्म उपभोक्ता ठगिने समस्या समाधान नहुने स्थानीयको निष्कर्ष छ ।