पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, वैशाख ३१ गते । पश्चिम नवलपरासी जिल्लाअन्तर्गत जिल्ला हुलाक कार्यालय नवलपरासी (पश्चिम)ले सरकारी सेवालाई प्रविधिमैत्री र जनमुखी बनाउने उद्देश्यसहित ‘गभर्मेन्ट कुरियर सर्भिस’ सुरु गरेको छ । यस सेवाअन्तर्गत अब सेवाग्राहीले राहदानी (पासपोर्ट) लिन जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने झन्झट अन्त्य हुने भएको छ ।
जिल्ला हुलाक कार्यालयका प्रमुख (हुलाक अधिकृत) रमेश ज्ञवालीका अनुसार हुलाक सेवालाई आधुनिक र प्रविधिमैत्री बनाउँदै सरकारी सेवा नागरिकको घरदैलोमै पुर्याउने उद्देश्यले यो सेवा सुरु गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयमा राहदानीका लागि आवेदन दिने सेवाग्राहीले प्रशासन परिसरभित्र रहेको हुलाक काउन्टर (कोठा नं. ८) मा सामान्य फारम भर्नुपर्ने व्यवस्था गरिएको छ । उक्त फारममा ५५ रुपियाँको हुलाक टिकट टाँसी आफ्नो स्पष्ट ठेगाना र सम्पर्क नम्बर उल्लेख गरेपछि, राहदानी तयार भई जिल्ला आइपुग्नेबित्तिकै हुलाकका कर्मचारीले सम्बन्धित व्यक्तिको घरमै पुगी हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको छ ।
यसअघि राहदानी लिन सदरमुकाम परासी आउनुपर्ने बाध्यता थियो । नयाँ सेवाले विशेषगरी ग्रामीण भेगका बासिन्दाको समय र यातायात खर्च दुवै बचत हुने विश्वास गरिएको छ । हुलाक कार्यालयले राहदानी सुरक्षित रूपमा सम्बन्धित व्यक्तिलाई मात्र बुझाइने जनाएको छ ।
राहदानी सेवासँगै हुलाक कार्यालयले पार्सल सेवामा पनि सुधार गरेको छ । अब जिल्लाबाट देशभर २ केजीदेखि २० केजीसम्मका सामान सुरक्षित र सस्तो दरमा पठाउन सकिने व्यवस्था गरिएको छ ।
सरकारी निकायबीचको समन्वय र हुलाक सेवाको आधुनिकीकरणले सेवाग्राहीमा उत्साह बढाएको छ । यसले लामो समयदेखि चिठी आदानप्रदानमा मात्र सीमित हुलाक सेवाको भूमिका पुनः सुदृढ गर्ने अपेक्षा गरिएको छ ।