विनय कर्ण
कल्याणपुर (सप्तरी), वैशाख ३१ गते । तिलाठी कोईलाडी गाउँपालिका–५ बनरझुल्ला टोलकी ३६ वर्षीया अनिता देवी राय एक सातादेखि बेपत्ता रहेको अवस्थामा मृत फेला पर्नुभएको छ । उहाँको शव बुधबार सोही वडाको ‘नौ किलोमिटर’ भन्ने स्थानस्थित कोशी नदीको स्परमा कुहिएको अवस्थामा फेला परेको हो ।
अर्धनग्न अवस्थामा फेला परेको शवको प्रारम्भिक अनुसन्धानका आधारमा हत्या गरी कोशी नदीको स्परमा फालिएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले बताउनुभयो ।
उहाँका अनुसार मृतकका हात र खुट्टा बाँधिएको तथा ढुङ्गा प्रहार गरी हत्या गरिएको देखिएको छ ।
“मृतकले लगाएको साडीले हात–खुट्टा बाँधिएको तथा श्रीमान् प्रयोग गर्ने भेस्टमा गह्रौं ढुङ्गा राखेर घाँटीमा बाँधिएको अवस्थामा शव फेला परेको देखिन्छ,” प्रहरीको प्रारम्भिक भनाइ उद्धृत गर्दै उहाँले भन्नुभयो ।
तिलाठी कोईलाडी–५ का वडाध्यक्ष ललन राउतका अनुसार गत बुधबार छिमेकीको विवाहमा परिवारका सदस्य गएका बेला चार–पाँच जनाको अपरिचित समूहले अनिताको अपहरण गरेको हो ।
अपहरणको क्रममा प्रतिवाद गर्दा उनी घाइते भएको र आँगनमा रगतका छिटा देखिएकाले प्रतिकारका बाबजुद उनलाई नियन्त्रणमा लिइएको हुनसक्ने अनुमान गरिएको वडाध्यक्ष राउतले बताउनुभयो ।
मृतकका श्रीमान् छोटु भनिने बिरेन्द्र राय विगत दुई वर्षदेखि वैदेशिक रोजगारीमा विदेशमा रहेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएलगत्तै प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरी नेतृत्वको टोली घटनास्थल पुगेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।