गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख ३१ गते । बर्खे धान लगाउने बेला मलको माग र खपत धेरै हुने समय नजिकिँदै गर्दा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले वैकल्पिक उपायमार्फत आपूर्ति सहज बनाउने काम गरिरहेको जनाएको छ ।
मन्त्रालयले विज्ञप्ति जारी गरी देशभर रासायनिक मल आपूर्ति र बिक्रीवितरण व्यवस्थित बनाउन प्रयास गरिरहे पनि अन्तर्राष्ट्रिय परिस्थितिका कारण केही चुनौती थपिएको जनाएको हो । अन्तर्राष्ट्रिय बजारबाट मल खरिद र आपूर्तिमा हुन सक्ने सम्भावित समस्याप्रति मन्त्रालयले पूर्वसतर्कता अपनाउनसमेत सबैमा आग्रह गरेको छ ।
पश्चिम एसियामा जारी द्वन्द्वका कारण सम्झौता भइसकेको करिब एक लाख ८५ हजार मेट्रिक मल आपूर्तिमा समस्या परेको मन्त्रालयले जनाएको छ ।
मल अभावको मौका छोपेर बजारमा कमसल मल बिक्री हुन सक्ने वा सरकारी अनुदानको मलमा कालो बजारी हुन सक्ने सम्भावनालाई ध्यानमा राखी मन्त्रालयले कडा नियमन गर्ने जनाएको छ ।
‘रासायनिक मल (नियन्त्रण) आदेश २०५५’ को प्रावधान अनुसार तोकिएको विशिष्टीकरण र मापदण्ड पुगेका मल मात्र पैठारी र बिक्री गर्न पाइने व्यवस्थालाई कडाइसाथ लागु गरिने मन्त्रालयले जनाएको छ ।
“किसानलाई अनुदानमा गुणस्तरीय मल उपलब्ध गराउन हरदम प्रयासरत रहेकाले अनियमितता वा कमसल मल भेटिए तुरुन्त स्थानीय तह वा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउनुहोला मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।”
मन्त्रालयले किसानलाई कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट आधिकारिक रूपमा दर्ता भएका डिलरबाट मात्र मल खरिद गर्न अनुरोध गरेको छ । मन्त्रालयले स्थानीय सहकारी संस्था वा आधिकारिक डिलरमार्फत मात्र मल लिन कृषकलाई अनुरोध गरिएको छ । मल खरिद गर्दा बोरामा उल्लेख गरिएको तौल, मूल्य र गुणस्तरको विवरण स्पष्ट रूपमा जाँच गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
कुनै पनि समस्या परेमा वा शङ्कास्पद रूपमा मल बिक्रीवितरण भएको पाइएमा तुरुन्त स्थानीय कृषि कार्यालय वा सम्बन्धित निकायमा सम्पर्क गर्नसमेत सूचनामार्फत सूचित गरिएको छ ।
हाल देशभर सामान्य रूपमा मल बिक्रीवितरण भइरहे पनि भविष्यमा हुन सक्ने अभाव टार्न मन्त्रालयले वैकल्पिक वैदेशिक स्रोत खोजी गरिरहेको जनाएको छ । धानबालीको लागि (जेठ–असोज) सम्म दुई लाख ५० हजार मेट्रिक टन मल आवश्यक पर्ने मन्त्रालयले जनाएको छ । माग अनुसार रासायनिक मलको आपूर्ति नहुँदा धान रोप्ने बेला बर्सेनि किसानले मलको अभाव खेप्नु परेको छ ।