• ३१ वैशाख २०८३, बिहिबार

प्राधिकरणमा दुई सञ्चालक नियुक्त, कामु कार्यकारी निर्देशकमा श्रेष्ठ

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख ३१ गते । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा दुई नयाँ सदस्य नियुक्त हुनुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बुधबार मन्त्रीस्तरीय निर्णयमार्फत अंशुकिरण शाही र कृष्ण बसेललाई आगामी चार वर्षका लागि नियुक्त गर्नुभएको हो । काठमाडौँ महानगरपालिका–१५ निवासी शाहीलाई निजी क्षेत्रको र नागार्जुन नगरपालिका–५ निवासी बसेललाई उपभोक्तातर्फ नियुक्त गरिएको हो । 

त्यस्तै नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलाई कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको प्राधिकरण सञ्चालक समितिको १०३० औँ बैठकले उक्त निर्णय गरेको हो ।

श्रेष्ठ २९ वर्षदेखि प्राधिकरणको प्राविधिक तथा व्यवस्थापकीय जिम्मेवारीमा सक्रिय रहँदै आउनुभएको छ । उहाँ २०५४ सालमा सातौँ तहको अधिकृतका रूपमा नेपाल विद्युत् प्राधिकरणमा सेवा प्रवेश गर्नुभएको थियो ।