गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख ३१ गते । नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर प्रमाण ‘एनएस’ चिह्नका लागि आवेदन दिएर प्रक्रिया अगाडि नबढाएका उद्योगलाई विभागको सक्दो छिटो सम्पर्क आउन निर्देशन दिएको छ । विभागले सूचनामार्फत २०८२ साल साउन १ गतेभन्दा अगाडि नै एनएस चिह्न प्रयोगका लागि आवेदन दिएका तर हालसम्म इजाजतपत्र वा प्रमाणपत्र प्राप्तिका कार्य प्रक्रिया अगाडि नबढाएका उद्योगलाई यस्तो ताकिता गरेको हो ।
विभागका निर्देशक एवं सूचना अधिकारी लेकखान कँडेलले गएको भदौ २४ गते जेनजी आन्दोलनका क्रममा एनएस चिह्नका लागि आएको र सम्पादनको प्रक्रियामा रहेकै बेला क्षति भएको हुन सक्ने भएकाले त्यस्ता उद्योगीका लागि यस्तो ताकिता गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार त्यस अवधिमा विभागमा आएका आवेदन आन्दोलनका क्रममा नष्ट भएको हुँदा सङ्ख्यासमेत यकिन नभएकाले आवेदन दिएका उद्योगीलाई यस प्रकारको ताकिता गर्नु परेको हो ।
विभागका ती उद्योगले इजाजतपत्र वा प्रमाणपत्र प्राप्तिका लागि प्रक्रिया अगाडि बढाउन चाहेमा आउँदो सातासम्म आधिकारिक प्रतिनिधिमार्फत आफ्नो विवरण र पत्रसहित विभागमा सम्पर्क राख्नुपर्ने छ ।
तोकिएको अवधिभित्र सम्पर्कमा नआउने उद्योगको हकमा पुराना आवेदनलाई मान्यता नदिइने पनि विभागले सूचनामार्फत स्पष्ट पारेको छ । त्यस्ता उद्योगले भविष्यमा गुणस्तर चिह्न लिन चाहेमा पुनः नयाँ आवेदक सरहको प्रक्रिया सुरु गर्नुपर्ने व्यहोरासमेत विभागले जनाएको छ । निर्देशक कँडेलले यस्तो अवस्थामा ती आवेदकले इजाजतपत्र वा प्रमाणपत्र प्राप्तिका लागि पुनः नयाँ आवेदक सरहको प्रक्रिया सुरुदेखि नै अगाडि बढाउनुपर्ने जानकारी दिनुभयो ।