• ३१ वैशाख २०८३, बिहिबार

नृसिंहधाममा एकमहिने पुरुषोत्तम महामहोत्सव हुँदै

blog

त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यान्टारस्थित ऐतिहासिक नृसिंहधाम । तस्बिर : अस्मिता पोखरेल

अस्मिता पोखरेल
धादिङबेसी, वैशाख ३१ गते ।
त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यान्टारस्थित ऐतिहासिक नृसिंहधाममा एकमहिने ‘पुरुषोत्तम महामहोत्सव’ आयोजना हुने भएको छ । जेठ १ देखि ३० गतेसम्म सञ्चालन हुने महामहोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

वैदिक सनातन परम्पराअनुसार भगवान् नृसिंहदेवका १२ प्रमुख पीठमध्ये नेपालमा रहेको एकमात्र पीठका रूपमा परिचित नृसिंहधाम धार्मिक दृष्टिले महत्वपूर्ण तीर्थस्थल मानिन्छ । स्कन्द र वराह पुराणमा समेत उल्लेखित यस स्थललाई भगवान् नृसिंहदेव प्रकट भएको पवित्र भूमि मानिन्छ ।

पुरुषोत्तम महिनाको अवसरमा यस वर्ष विशेष पूजा, हवन तथा धार्मिक अनुष्ठान आयोजना गर्न लागिएको हो । आयोजकका अनुसार यसपटक गोत्रअनुसारका हवन कुण्ड निर्माण गरी विशेष हवन गरिनेछ भने विभिन्न १०८ तीर्थस्थलमा सम्पन्न यज्ञको पूर्णाहुति पनि यहीँ गरिने भएकाले कार्यक्रम विशेष हुने अपेक्षा गरिएको छ ।

मूल पुरोहित श्रीवास कृष्णदास ब्रह्मचारीका अनुसार प्रत्येक भक्तका लागि गोत्रअनुसार हवन कुण्ड निर्माण गरिएको छ । गोत्रअनुसार हवन गरी भगवान् नृसिंहदेवको दर्शन गर्दा विघ्नबाधा हट्ने र मनोकामना पूरा हुने धार्मिक विश्वासले भक्तजनको आकर्षण बढ्दै गएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पछिल्ला तीन वर्षदेखि नेपाल, भारत र चीनका विभिन्न तीर्थस्थलमा यज्ञ तथा हवन गर्दै आएका थियौँ । ती तीर्थस्थलबाट ल्याइएको जलप्रसाद वितरणसहित १०८ तीर्थ यज्ञको पूर्णाहुति यसपटक नृसिंहधाममै हुने भएकाले कार्यक्रम विशेष रहनेछ ।”

महामहोत्सवलाई लक्षित गरी स्नानस्थल निर्माण, कथा–प्रवचन मञ्च व्यवस्थापन तथा दैनिक ८ देखि १० हजार भक्तजनलाई निःशुल्क प्रसाद वितरणको तयारी भइरहेको आयोजकले जनाएको छ । चामलमाथि दियो बालेर जाग्राम बस्दा मनोकामना पूरा हुने धार्मिक विश्वासका कारण यस वर्ष ठूलो संख्यामा श्रद्धालु सहभागी हुने अपेक्षा गरिएको छ ।

आयोजकका अनुसार महामहोत्सव अवधिभर करिब २० लाख भक्तजनले नृसिंहधामको दर्शन तथा धार्मिक कार्यक्रममा सहभागिता जनाउने अनुमान गरिएको छ । पुरुषोत्तम महिनामा यहाँ आएर गोत्रअनुसार हवन गर्दा विघ्नबाधा हट्ने तथा पितृका नाममा हवन गर्दा वैकुण्ठ प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।

महामहोत्सव व्यवस्थापनका लागि दैनिक एक हजारभन्दा बढी श्रद्धालुलाई आवास तथा पाँच हजारभन्दा बढीलाई भोजन गराउने तयारी गरिएको समितिले जनाएको छ ।

बहुचर्चित बुढीगण्डकी जलविद्युत आयोजना को डुबान क्षेत्रमा पर्ने यो मन्दिर आयोजनाको निर्माण हुँदा समेत तालमुनि राख्ने गरी योजना अघि बढाइएको बताइन्छ । गाउँपालिकाले यसको संरक्षण तथा प्रवर्द्धनका लागि पनि काम गरिरहेको जनाएको छ ।

गाउँपालिका अध्यक्ष राजु उप्रेतीका अनुसार नृसिंहधाम त्रिपुरासुन्दरी गाउँपालिकामात्र नभई देशकै महत्वपूर्ण धार्मिक स्थल भएकाले गाउँपालिकाले आफ्नो क्षमताअनुसार लगानी गरिरहेको छ ।

महामहोत्सव अवधिभर स्वास्थ्य सेवा, हेल्थ डेस्क, एम्बुलेन्स, पार्किङ व्यवस्थापन तथा स्वयंसेवक परिचालनको तयारी पूरा गरिएको छ । सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी तथा अन्य निकायसँग समन्वय गरिएको र दैनिक ३० देखि ४० जना सुरक्षाकर्मी परिचालन गरिने गाउँपालिकाले जनाएको छ ।

आयोजकले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण सनातन हिन्दु धर्मावलम्बीलाई महामहोत्सवमा सहभागी हुन आग्रह गरेको छ ।

धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण नृसिंहधाम धादिङबेसीबाट करिब एक घण्टाको यात्रामा पुग्न सकिन्छ । भगवान् नृसिंहदेवले भक्त प्रह्लादको रक्षा गर्दै हिरण्यकश्यपुको वध गरेको स्थलका रूपमा समेत विश्वास गरिने यस क्षेत्रमा लाग्ने मेलाले धार्मिक पर्यटन प्रवर्द्धनसँगै स्थानीय अर्थतन्त्रमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।