• ३१ वैशाख २०८३, बिहिबार

जिल्ला राष्ट्रपति रनिङशिल्ड पाँचौँ पटक मुसिकोटको कब्जा

blog

जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा मुसिकोटको मार्चपास । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी), वैशाख ३१ गते ।
मुसिकोट नगरपालिका–४ कुर्घास्थित ग्वादीकाचौर खेलमैदानमा सम्पन्न १६औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि पाँचौँ पटक मुसिकोट नगरपालिकाले जितेको छ । यसअघि पनि मुसिकोटले लगातार चार पटक उपाधि जितिसकेको थियो ।

मुसिकोटले १३ स्वर्ण, १३ रजत र ११ कास्यसहित कुल ३७ पदक प्राप्त गर्दै प्रथम स्थान हासिल गरेको हो । चन्द्रकोट गाउँपालिका ८ स्वर्ण, ६ रजत र १० कास्यसहित २४ पदकका साथ दोस्रो भयो भने इस्मा गाउँपालिका ७ स्वर्ण, ७ रजत र ५ कास्यसहित १९ पदकका साथ तेस्रो भएको जिल्ला भलिबल संघ गुल्मीका महासचिव नारायण आचार्यले जानकारी दिनुभयो ।

प्रतियोगितामा छात्रछात्राबीच भलिबल, कबड्डी, हाईजम्प, लङजम्प, ट्रिपलजम्प, सटपुट, ज्याभलिन थ्रो, मार्सल आर्ट, दौड, तेक्वान्दो, कराते लगायतका खेलहरू सञ्चालन गरिएको थियो । जिल्ला खेलकुद विकास समिति गुल्मीको आयोजनामा सम्पन्न प्रतियोगितामा जिल्लाका १२ वटै स्थानीय तहका खेलाडी सहभागी भएका थिए ।

प्रदेश स्तरीय प्रतियोगिताका लागि खेलाडी छनोटसमेत गरिएको छ । चिदिचौर खेलमैदान निर्माणाधीन भएकाले यस वर्ष जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड तम्घास बाहिर आयोजना गरिएको हो । गत वर्षको १५औँ संस्करण रुरुक्षेत्र गाउँपालिकाको घिउवेँसी खेलमैदानमा सम्पन्न भएको थियो ।

ग्वादीकाचौर खेलमैदानमा हाल विभिन्न खेलकुद कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । यसै क्रममा मुसिकोट नगरस्तरीय आठौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता पनि सम्पन्न भएको छ । उक्त प्रतियोगितामा त्रिभुवन माध्यमिक विद्यालय ले २३ स्वर्ण, २० रजत र १० कास्यसहित ५३ पदकका साथ प्रथम स्थान हासिल गरेको छ ।

त्यस्तै महेन्द्र आदर्श माध्यमिक विद्यालय २१ स्वर्ण, १३ रजत र ५ कास्यसहित ३९ पदकका साथ दोस्रो भयो भने पृथ्वी माध्यमिक विद्यालय ५ स्वर्ण, ४ रजत र ३ कास्यसहित १२ पदकका साथ तेस्रो भएको नगरपालिकाले जनाएको छ ।

यी तीनै प्रतियोगितालाई ‘मुसिकोट खेलकुद महामेला’का रूपमा सञ्चालन गरिएको छ । महामेला वैशाख २५ देखि जेठ २ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

यसै अवधिमा वैशाख ३१ देखि जेठ २ गतेसम्म तेस्रो मुसिकोट मेयर रनिङ कप पनि आयोजना गरिएको छ । सो प्रतियोगितामा पालिका स्तरीय भलिबल प्रतियोगितासहित विभिन्न खेलहरू समावेश छन् ।

भलिबल प्रतियोगितामा प्रथम हुने टोलीले २ लाख १ हजार रुपियाँ, उपविजेताले १ लाख ३५ हजार रुपियाँ, तृतीयले ४० हजार रुपियाँ र सान्त्वना स्थान प्राप्त गर्ने टोलीले २६ हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने नगरपालिकाले जनाएको छ ।

मेयर कपअन्तर्गत महिला कबड्डी प्रतियोगिताको पनि आयोजना गरिएको छ । यस प्रतियोगितामा विजेताले ३५ हजार र उपविजेताले २० हजार रुपियाँ प्राप्त गर्नेछन् । त्यस्तै ब्याडमिन्टन प्रतियोगितामा विजेताले २० हजार र उपविजेताले १३ हजार ५०० रुपियाँ पुरस्कार पाउने नगर खेलकुद विकास समितिका अध्यक्ष सन्दिप क्षेत्रीले जानकारी दिनुभयो ।